२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

माग बढेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ

७ कात्तिक, बाग्लुङ । तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । बागलुङका घरेलु उद्यमीहरुले तयार गर्ने झिनियाँ रोटीको माग बागलुङलगायत अन्य ठाउँबाट पनि आउन थालेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको हो ।

नेपाली समाजमा तिहारको भाइटिकामा सप्तरङ्गी झिनियाँ कोसेलीको रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेपनि अन्य चाडबाडमा पनि झिनियाँको माग बढ्न थालेपछि बाह्रैमहिना झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको उद्यमीहरु बताउँछन् ।

बागलुङका उद्यमीले दशैँ तिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् । विशेषगरी तिहारको बेलामा झिनियाँको माग अत्याधिक हुने भएकाले आफूले दुई महिनादेखि झिनियाँ रोटी बनाइराखेको उद्यमीहरुको भनाइ छ ।

‘‘झिनियाँको माग अत्याधिक भएका कारण रातदिन नभनी काम गरिरहेकी छु’’ उद्यमी मीरा श्रेष्ठले भन्नुभयो, “यही सिजनमा चारदेखि पाँच लाखसम्मको झिनियाँका परिकार बिक्री गर्ने लक्ष्य छ ।”

श्रेष्ठले झिनियाँ, चिनी, तथा फिनि रोटी विगत लामो समयदेखि उत्पादन गर्दै आउनुुभएको छ । उहाँले वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । बागलुङ बजारको मरेपिपलमा वर्षौंदेखि परम्परागत रुपमा झिनियाँ बनाउँदै आएकी श्रेष्ठले बागलुङ बजारमा मात्र आफू जस्ता दर्जनौं महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आइरहेको बताउनुभयो ।

तिहारमा दाजुभाइलाई सप्तरङ्गी टिकासँगै सप्तरङ्गी झिनियाँसमेत खुवाउने परम्परा रहेकाले उद्यमीहरु विभिन्न रङका झिनियाँ निर्माण गर्न व्यस्त भएका छन् । उद्यमी बिहान ३ बजेदेखिनै उठेर झिनियाँ निर्माणमा व्यस्त हुने गरेका छन् ।

‘‘अहिले झिनियाँको माग अत्याधिक छ’’ अर्का उद्यमी सरीता सापकोटाले भन्नुभयो,“ तिहारमा यसको महत्व भएकाले माग ह्वात्तै बढेको छ ।” उद्यमीहरुका अनुसार रु एक हजार ४०० को चामलबाट करीब दुई हजार ५०० देखि तीन हजारसम्मको झिनियाँ तयार गर्न सकिन्छ । थोक मूल्यमा दर्जनको एक सय रुपैयाँ तथा फुटकर रु १५० मा बिक्री गर्दै आइरहेका उद्यमीले यतिबेला झिनियाँ तयार गरेर सुकाउनमा व्यस्त हुने गरेका छन् ।दशैँको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ । रासस

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार १४:१७