२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

आफुमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्चमा

६ असार, काठमाडौं । त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गगरेका छन् । बुधबार सर्वोच्च अदालत पुगेका चलाउनेले आफुमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय गैरकानूनी र असंवैधानिक भएकोले खारेजीको माग गर्दै रिट दर्ता गरेका हुन् ।

रिट दर्ता गरेपछि उपप्राध्यापक चलाउनेले सरकारले अदालतलाई अचानो बनाउन नहुने बताए । न्यायपालिकाको काम न्यायपालिकालाई नै गर्न दिनु पर्ने उनको भनाइ छ । उनले भने ‘रिट दर्ता भयो भोलि पेशी छ । यो स्वतन्त्र न्यायपालिका माथि राज्यको हस्तक्षेप बन्द गर्नु पर्छ । अपराधको राजनीतिकरण गर्न पाउँदैन सरकारले । मलाई न्यायालयले न्याय दिनुपर्छ । ’

समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोेज २० त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो । गत जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। उक्त निर्णय जिल्ला सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमडौंमा पेश भएको छ । यही निर्णयविरुद्ध चलाउनेले दिएको रिटको पेशी भोलि असार ७ गते बिहीबारलाई तोकिएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १५:११