२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

प्रचण्डजी कतिञ्जेल प्रतिगमनको खतरा देखाएर देश र जनताको शोषण गर्नुहुन्छ ?

५ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समाजवादी मोर्चाको सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गम्भीर प्रश्न गरेका छन । उनले समाजवादी मोर्चाबारे धारणा सार्वजनिक गर्दै कतिञ्जेल प्रतिगमनको खतरा देखाएर देश र जनताको शोषण गर्नुहुन्छ भनेर प्रश्न गरेका छन ।

यस्तो छ थापाको धारणा र प्रश्न

समाजबादी मोर्चा बारे राप्रपा नेपाल अध्यक्ष कमल थापाको धारणा :- राजनीतिक दल वा नेताहरुले आपसमा एकता गर्ने, सहकार्य गर्ने वा मोर्चा बनाउने कार्य स्वभाविक अभ्यास हो। तर, आज घोषणा गरिएको ‘समाजवादी मोर्चा’का अधिकांश नेताहरु र खासगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले मोर्चाको गठन प्रतिगमन र प्रतिगामी शक्तिका विरुद्ध युद्धको घोषणा भएको उल्लेख गर्नुभयो। प्रतिगामी शक्ति भनेर उहाँले राजसंस्था र हिन्दुराष्ट्र पक्षधर एवं संघियता विरोधी शक्तिहरुलाई ईंगित गर्नुभएको बुझ्न गाह्रो छैन।

प्रधानमन्त्री प्रचण्डलाई मेरो प्रश्न – कतिञ्जेल प्रतिगमनको खतरा देखाएर देश र जनताको शोषण गर्नुहुन्छ ?
देशलाई वर्तमान संकटको दलदलमा फसाउने काम १७ वर्ष अघि पाखा लगाईएका राजा वा राजसंस्थाबाट होईन। अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट कायम छ, नेताहरुमा बिदेशीको सामु घुँडा टेक्ने आत्मसमर्पणवादी मानसिकता हावी भएको छ, बिदेशीहरुको चलखेल र हस्तक्षेप बढेको छ, सनातन धर्म संस्कृति माथि निरन्तर आक्रमण जारी छ, अर्थतन्त्र संकटग्रस्त छ, देशभित्र रोजगारी नपाएर लाखौं युवाहरु बिदेश पलायन हुन बाध्य भएका छन्। यो अवस्थाको सिर्जना कसले गरेको हो? राजा वा हिन्दुवादीहरुले हो?

वास्तवमा २०६३ सालको राजनीतिक परिवर्तनपछि आमुल परिवर्तनको नाममा अबलम्बन गरिएको अवधारणा र राष्ट्रनिर्माणको मार्गचित्र नै गलत थियो। देशले भोग्नु परेको रोग,भोक, अशिक्षा,गरिबी र पछ्यौटेपनको ‌मूलकारण राजसंस्था, हिन्दुराष्ट्र र एकात्मक राज्य प्रणाली दोषी हुन् भन्ने भाष्य नै गलत थियो।

यस्ता त्रुटि र कमजोरीहरु सच्याएर देश र जनताको हितमा काम गर्नुको सट्टा अमुर्त र भ्रामक त्राश सिर्जना गर्नु हाल विद्यमान कुशासन, भ्रष्टाचार र अराजकतालाई निरन्तरता दिने चाहना र वहाना मात्र हो। यस अवस्थामा राष्ट्रियता र प्रजातन्त्रको संरक्षण, सनातन धर्म संस्कृतिको रक्षा एवं सुशासनको माध्यमबाट नेपाली जनताको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरुका बिचमा सहकार्य र एकता आजको आवश्यकता हो।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार ०९:५९