६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता निष्कर्षविहीन

४ असार, बिराटनगर। कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पक्षबीच भएको पहिलो वार्ता कुनै टुंगोमा पुग्न सकेन ।

सोमबार प्रदेश राजधानी विराटनगर स्थित एक होटलमा भएको वार्ता करिब ५ घण्टा बसेपनि निष्कर्षविहीन बनेको छ । प्रदेश सरकारका तर्फबाट वार्ता समितिको संयोजक रहेका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ता सौहाद्र्धपूर्वक सम्पन्न भएको र पुनःवार्ता गर्ने सहमति बनेको जानकारी दिए ।

उनले आपसि छलफल गरेर पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको बताए । उनले आन्दोलनरत पक्षका एजेन्डाहरु वार्ताको विषयमा प्रवेश भएको र आगामी छलफलबाट सहमति खोज्ने प्रयास गर्ने समेत बताए ।

वार्तामा पहिचान पक्षधरबाट गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, लगायत सहभागी थिए । यता प्रदेश सरकारको तर्फबाट सिंचाइ खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिकविकासमन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित थिए ।

गत फागुन १७ गते प्रदेश सभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरहरु निरन्तर आन्दोलनमा छ्न ।आन्दोलनका क्रममा पहिचान पक्षधर प्रदर्शनकारी पदम लिम्बू लागेहाङको गत चैत ५ गते विराटनगरमा भएको झडपमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १५:३७