६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

एनसेलसँगको मुद्दा प्रकरणमा भएको के हो प्रष्ट पार्न सांसद सुवालको माग

४ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एनसेलसँग मुद्दाको विषयमा प्रष्ट पार्न सरकारसँग माग गरेका छन् ।
सोमबार खर्च कटौतीको प्रस्ताव र निर्धारित विनियोजन शीर्षक माथिको छलफलमा सांसद सुवालले एनसेलसँगको १ खर्व उठाउने मुद्धा सरकारले जित्यो र ४५ करोड रुपैयाँ सरकारले एनसेललाई तिर्नु पर्ने भन्नेकुरा आएका छन् । तर उनले यसबारेमा नेपाली समाजमा भ्रम रहेकोले सरकारले नै यसबारेमा प्रष्ट पार्नु पर्ने माग राखे ।

उनले भने ‘ एनसेलसँग १ खर्व उठाउने मुद्धा सरकारले जित्यो भन्ने समाचार आयो । र एनसेलले तत्कालै सरकारलाई तिर्नु पर्ने छैन भनेर पनि आयो । यो के भएको हो ? र, अर्को ४५ करोड रुपैयाँ एनसेलकाअधिकारीहरुको कारणले सरकारले एनसेललाई तिर्नु पर्ने भन्ने पनि छ । यसमा सरकारको अधिकारीहरुको के कमजोरी भयो । जनताको आम्दानीचाहीँ केहीअधिकारीहरुको कारण एनसेललाई करोडौं तिर्नु पर्ने यसमा के भएको हो? सम्बन्धित अधिकारीहरुले असुल उपर गर्नु पर्छ जनताले एनसेललाई तिर्ने कुरा हुँदैन । ’

सांसद सुवालले ध्वनी प्रदूषण साईलेन्ट किलर भएको र यसलाई सञ्चार माध्यमले प्राथमिकतामा नराखेको गुनासो गरे । यसलाई नियन्त्रण गर्नु पर्ने पनि उनको सुझाव थियो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १४:४८