नयाँ ब्रोकरका सञ्चालकले अध्यक्ष ओलीलाई बुझाए १६ बुँदे ज्ञापनपत्र
३ असार, काठमााडाैं । न्यु स्टक ब्रोकर एसोसिएसन नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पुँजीबजारको विकास र विस्तारका लागि पहल गरिदिन १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
आइतबार न्यु स्टक ब्रोकर एसोसिएसन नेपालको प्रतिनिधिमण्डलले अध्यक्ष ओलीलाई भेटेर यस्ताे अनुराेध गरेकाे हाे । उनीहरूले नयाँ ब्राेकर लाईसेन्सकाे रोकिएको प्रक्रिया खुलाएर तत्काल कारोबार गर्न सहजिकरण गराउनका लागि पहल गरिदिन ओली समक्ष अनुरोध गरेका छन् ।
‘सर्वोच्च अदालतको २०७९ चैत्र २६ गतेको फैसलाको विरुद्धमा, संविधानको धारा १२८ लाई समेत उल्लंघन गरेर अर्थ समितिले दिइएको पूर्वाग्रह पूर्ण, सीमित व्यवसायीको सिण्डिकेट र बजारमा एकाधिकारको अवस्थालाई निरन्तरता दिने ढंगबाट जारी भएको निर्देशनलाई खारेज गर्दै आफ्नो दलको तर्फबाट नेपालको संविधानको धारा १२८ लाई पूर्ण रुपमा परिपालना गर्न आवश्यक पहलकदमी तथा सहजीकरण गरिदिनुहुन समेत आदरणीय अध्यक्षज्यू समक्ष हाम्रो संगठनको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ’ ज्ञापन पत्रमा उल्लेख छ ।
प्रकाशित मिति : ३ असार २०८०, आईतवार १६:३३