लोडसेडिङ गरेर विद्युत निर्यात गरेको भन्ने आरोप गलतः कुलमान घिसिङ
३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गरेर विद्युत निर्यात गरेको भन्ने आरोप गलत भएको बताएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले प्राविधिक कारणले लोडसेडिङ भएको भन्दै पावरप्लान्टहरु पनि बन्द हुने र निर्यात गर्न पनि नमिल्ने भन्दै स्पष्टीकरण दिए ।
उनले राति हाम्रो खपत कम हुने हुँदा फाल्नु परेकाले राति निर्यात बढाउन आवश्यक रहेको बताए । उनले भने,‘राति हाम्रो खपत कम हुन्छ र निर्यात बढाउनै पर्छ निर्यात गरेन भने हामीले त्यसलाई फाल्नै पर्ने हुन्छ । हामीले यहाँ बत्ति अफ गरेर निर्यात गरेको भन्ने कुरा गलत हो प्राविधिक कारणले हो हाम्रो पावरप्लान्टहरु पनि बन्द हुन्छ त्यसैले निर्यात नै गर्न मिल्दैन् ।’
घिसिङले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको बताए । तराई मधेशमा धेरै गर्मी भएकाले विद्युत खपत बढ्दा पनि ट्रान्समिसन लाइनमा समस्या आएको उनको प्रष्टोक्ति छ । उनले नेपालमा अब विद्युतको लागि लगानी चाहिएको भन्दै यदि विद्युत क्षेत्रलाई वेवास्ता हुने हो भने अर्को समस्या आउने टिप्पणी गरे ।
प्रकाशित मिति : ३ असार २०८०, आईतवार १५:४६