नबिक्ने चर्चामा रहेकाे घोराही सिमेन्टको आईपीओमा पहिलाे दिनमै पर्यो मागभन्दा बढी आवेदन
१ असार, काठमाडाैं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा माग गरे अनुसार आवेदन नपर्ने चर्चा चलिरहेकाे समयमा पहिलाे दिनमा नै कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले अंकित मूल्यमा प्रिमियम मूल्य थप गरी सेयर बिक्री गरिरहेको कम्पनीको सेयर मूल्य उच्च भएको भन्दै विवादमा परेको याे कमपनीले बिक्री गरेकाे सेयर सर्वसाधारणले खरिद आवेदन नै नदिने आँकलन गरिएकाे समयमा सेयर निष्काशन भएकाे २४ घण्टामा मागभन्दा बढी आवेदन परेकाे हाे ।
कम्पनीले हिजाे जेठ ३२ गते, बिहीबारदेखि सर्वसाधारणको लागि प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे छ । साधारणतया प्राय कम्पनीहरूले एक सय अंकित मूल्यमा आईपीओ निष्काशन गर्ने गरेका छन् । तर याे कम्पनीले भने प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ निष्काशन गरेकाे हाे । अन्य कम्पनीहरूकाे एक हजारमा १० कित्ता सेयर किन्न सकिने थियाे तर याे कम्पनीकाे सेयर किन्नकाे लागि ४ हजार ३ सय ५० रूपियाँ तिर्नुपर्छ ।
सीडीएसकाे पछिल्लाे तथ्याङ्क अनुसार कम्पनीकाे आईपीओमा शुक्रबार बिहान १०:०६ बजेसम्म २ लाख २० हजार ७ सय ७६ जना लगानीकर्ताहरूले ३ अर्ब ३८ करोड १६ लाख ७२ हजार ६ सय रुपैयाँ बराबरकाे ७७ लाख ७३ हजार ९ सय ६० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा धेरै हाे । कम्पनीले सर्वसाधारणका लागि जम्मा ६९ लाख कित्ता निष्कासन गरेकाेमा ७७ लाख कित्ताकाे लागि आवेदन परिसकेको छ ।
कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रति सेयर ४३५ रुपैयाँमा दरमा कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको सेयर समेत जोडेर सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई ३ लाख ९७ हजार १ सय ९० कित्ता निष्काशन गरेकोमा कुल ७७ हजार २ सय ९० कित्ताको लागि मात्र आवेदन परेको थियो।
कम्पनीकाे आईपीओमा असार ४ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतममा १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 13:12









