१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपालको उर्जा क्षेत्र ठूलो ‘ब्रेक थ्रु’को संघारमा आईपुगेको छः उर्जामन्त्री बस्नेत

३२ जेठ, काठमाडौं। उर्जामन्त्री शक्ति बस्नेतले उर्जा क्षेत्र नयाँ क्रान्तिको संघारमा आइपुगेको बताएका छन् । बिहीबार स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था (इप्पान)को २१औं साधारणसभामा उर्जामन्त्री बस्नेतले आगामी १० बर्षमा १५ देखि २० हजार मेगावाट विद्युत व्यापार गर्ने गरी व्यापारको स्पस्ट खाका तयार पार्ने भन्दै उर्जा क्षेत्रले ठूलो ब्रेक थ्रु लिने संघारमा आईपुगेको बताएका छन्।

‘उर्जा क्षेत्रको ब्रेक थ्रु को संघारमा आइपुगेका छौं । समग्र उर्जा क्षेत्रको क्रान्तिकाे लागि चाहे त्यो व्यापारको दृष्टिले होस् , वितरण र उपभोगको दृष्टिले होस्,वा ट्रेडको हिसावले एउटा नयाँ र ठूलो ब्रेक थ्रुको संघारमा हामीआएपुगेका छौं ।’

आन्तरिक उर्जा खपतको लागि ‘विकासको लागि उर्जा’ नयाँ अभियान नै सुरु गर्न लागेको बताएका उनले विद्युत विस्तारको लागि आन्तरिक रुपमा पनि पूर्वाधारको हिसावले समग्र योजना र लक्ष्यलाई प्राप्त गर्ने गरी काम भैरहेको बताए । त्यस्तै,पूर्वाधार विस्तार विकारको क्षेत्रमा काम गर्दै आएको भन्दै अन्तरदेशीय ट्रान्समिशन लाईन निर्माणदेखि आन्तरिक विद्युत करिडोरको विस्तारको लागि पनि काम भैरहेकोले आगामी १० वर्षमा विद्युत खपत पनि बढ्ने र उर्जा क्षेत्रमा नयाँ क्रान्ति सुरू भएको जिकिर गरे ।

मन्त्री बस्नेतले भारत र बंगलादेशसंग मात्रै नभइ अन्य देशमा पनि सम्भव भएसम्म विद्युत निर्यात गर्ने गरी वातावरण बनाउने भन्दै आगामी दश वर्षमा १५ हजार मेगावाटसम्म विद्युत व्यापार गर्ने दृढ लक्ष्यका साथ काम गर्ने बताए ।

‘हालसालै भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको छ। निर्यातमा मात्रै नभइ आन्तरिक खपत क्षमता पनि बढाउनु पर्छ। भारत,बंगलादेश बाहेक अरु १५हजार व्यापार गर्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौं ’उनले भने।

त्यस्तै उनले विद्युत व्यापारको मात्र नभएर देशभित्रै उर्जा खपत बढाउने कुरालाई जोड दिदै आगामी दश वर्षमा देशभित्र उर्जा खपत बढाउने लक्ष्यको साथ काम गर्ने जिकिर गरे । ‘आगामी १० वर्षमा देशमा उर्जा खपत बढाउन एउटा निश्चित सीमाको लक्ष्य निर्धारण गरेर आन्तरिक क्षमताको विकास गर्ने बारेमा सोच्नुपर्ने छ ।र त्यसका लागि आन्तरिक क्षमता खपत गर्ने र विकासका गुरुयोजना सहित हामीले कार्यान्वयनमा जानुपर्ने छ ।’ सरकारले विद्युत ब्यापारको स्पष्ट खाका बनाउने बताएका उनले त्यसको कार्यान्वयनमा शंका नगर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १६:१३