गोपाल पराजुलीको लम्पसार प्रकरणः नेकपाका नेता सूर्य थापाले दिए चेतावनीयुक्त सुझाव
५ कात्तिक, काठमाडाैँ । पदमुक्त पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडा दशैँको टीका ग्रहण गर्ने बेलामा घुँडा धसेर लम्पसार परेको तस्बीर भाइरल भैरहेको छ । यही क्रमममा तस्बीरको अनेक कोणबाट व्याख्या सहितका हजाराैँ प्रतिक्रिया अाएका छन । प्रतिक्रियाकै क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता सूर्य थापाले राष्ट्रपतिको सचिवालयले गम्भीर भुल गरेको बताएका छन । उनले नागरिकलाई यो आसनमा बडादशैंको टीका ? भन्ने प्रश्न गर्दै नागरिक हैसियतको यसरी हुर्मत लिने गरी राष्ट्रप्रमुखलाई विवादित बनाउने रवैया मान्य हुन नसक्ने चेतवनी दिएका छन ।
संयोगवश : उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली ! उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन हुनुभएपछि पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो !! चर्चित मानवअधिकारकर्मी सुशील प्याकुरेल राष्ट्रपतिज्यूका सल्लाहकार हुनुहुन्छ भने आधुनिक कानूनमा विद्यावारिधि उपाधियुक्त डा. भेषराज अधिकारी स्वकीय सचिव !!! अनि जनताकी छोरी विद्या भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति । नागरिकलाई यो आसनमा बडादशैंको टीका ? संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताविक भएन । आजीवन हसिया हथौडा अंकित झण्डामुनि क्रियाशील, नेपाली महिला सशक्तिकरण आन्दोलनकी प्रेरणादायी नेतृ, जननेता मदन भण्डारीकी जीवन संगिनी र कम्युनिस्ट पार्टीबाट निर्वाचित राष्ट्रपतिज्यूलाई यसरी विवादमा तान्ने परम्पराको अभ्यास गराउने को हो ? नागरिक हैसियतको यसरी हुर्मत लिने गरी राष्ट्रप्रमुखलाई विवादित बनाउने रवैया मान्य हुनसक्दैन । किनभने, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सबै तहका जनप्रतिनिधिहरू जननिगरानी (Public Audit) अन्तर्गत नै रहेको हेक्का राखिनु मनासिव होला ।
प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार २१:०६