१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

अध्यक्ष दाहाललाई मोसो दल्नेमाथि अबिलम्बन कारबाही गर्न प्रगतिशिल प्राध्यापक संगठनको माग

३१ जेठ, काठमाडाैँ । नेपाल प्रगतिशितल प्राध्यापक संगठनले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि गरिएको अमानवीय व्यवहारको छानवीन गरी दोषीलाई अविलम्व कारवाही गर्न माग गरेको छ । बुधबार एक विज्ञप्ति प्रकािशत गरी संगठनले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.महेशराज दाहालको निजी निवासमै पुगेर गुण्डागर्दी शैलीमा मोसो दलेकोमा घोर निन्दा गरेको छ ।

संगठनका अध्यक्ष प्रा.डा. वेदराज केसी र महासचिव डा. पद्मप्रसाद खतिवडाले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘माग राख्ने र विरोध गर्ने जोसुकै सरोकारवालाहरूको मौलिक हक भएकोप्रति हाम्रो सङ्गठनको स्पष्ट अडान रहेकोमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि भएको अमानवीय घटना भएको दुई दिन बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरूको खोजी गरी कानुन बमोजिम कार्वाही गर्नुको सट्टा सत्तामा रहेका दलहरूले यसलाई सामान्य रूपमा लिएको प्रति नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले गभ्मीर रूपमा लिदै यस घटनालई एक गम्भीर चुनौतिको रूपमा स्वीकार गरि अघि बढ्ने चेतावनी समेत दिन चाहन्छ ।’

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ 

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि गरिएको अमानवीय व्यवहारको छानवीन गरी दोषीलाई अविलम्व कारवाही गर ।

यही मिति २०८० जेष्ठ २९ गते पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.महेशराज दाहालज्यूको निजी निवासमा एक हुल व्यक्तिहरू गुण्डागर्दी शैलीमा प्रवेश गरी आफूलाई सत्ताधारी राजनीतिक दलका विद्यार्थीको रूपमा प्रस्तुत गर्दै सेवा आयोगका अध्यक्षमाथि कालोमोसो छर्कने जस्तो अति अमानवीय घटनाको नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन घोर भत्र्सना गर्दछ ।

नेपाली काँग्रेस नभए प्रजातन्त्र रहँदैन भन्ने देखावटी भाष्य निर्माण गर्दै, लोकतन्त्रको आवरण जप्दै आफ्नै विद्यार्थी सङ्गठनका नामबाट विगत वर्षहरू देखि नै नेपालको उच्च शिक्षाको वागडोर सम्हालेका विश्वविद्यालयका पदाधिकारी माथि निरन्तर यस किसिमका आक्रमणहरू भएको प्रति नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले निरन्तर विरोध र खवरदारी गरिआएको छ । सत्ताको उत्कट चाहना पुर्तिका लागि जे गर्न पनि तयार हुने प्रवृतिकै कारण नेविसङ्घकै नामबाट विगत देखि नै विश्वविद्यालयका पदाधिकारीमाथि कालोमोसो दल्ने, भक्तपुर क्याम्पस प्रमुखको कुर्सी र नेमप्लेट रूखमा लगेर झण्ड्याउने, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सी कार्यकक्ष बाहिर चौरमा ल्याएर जलाउने, नेपाल संस्कृत विश्विद्यालयका उपकुलपतिको निजी निवासमा गई सांघातिक आक्रमण गर्ने, पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा तोडफोड गर्ने, त्रि..वि. सहित विभिन्न विश्वविद्यालय सेवा आयोगका चलिरहेका पदपुर्ति र पदोन्नतीका कार्यमा भाँजो हाल्ने, स्थगित गराउने, फरक आस्था र विचार राखेकै कारण त्रिभुवन विश्वविद्यालय सहित विभिन्न विश्वविद्यालयका प्राध्यापकमाथि ज्यान मार्ने उद्योगका साथ कुटपीट गर्ने, धम्क्याउने, आफ्नो भातृ सङ्गठनले जित्ने आशा मरेपछि क्याम्पसहरू छानीछानी स्ववियुको निर्वाचन हुनै नदिने जस्ता लोकतन्त्र विरोधी हर्कतमा लोकतन्त्रकै पहरेदारको दुहाइ दिने दल रमिता हेरेर बस्ने हो भने ती दलको संविधानप्रदत्त मौलिक हक, विश्वव्यापी लोकतन्त्र र मानवअधिकारप्रतिको दृष्टिकोणमा शंका गर्नु पर्ने वेला आएको छ ।

आफ्ना दलमा आवद्ध विद्यार्थीले गरेका ज्यादतिविरूद्ध किटानी जाहेरी हुँदा समेत लोकतन्त्रकै रटान गर्ने हो र सबैथोक प्रजातन्त्र हो भन्ने हो भने ती दल र साथमा लागेर वामपन्थीको आवरणमा सत्ता चलाउनेहरूको नेपालको उच्च शिक्षाप्रतिको दृष्टिकोणमा प्रश्न गर्नु पर्ने बेला आएको पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि गरिएको यस अमानवीय व्यवहारले थप पुष्टि गरेको छ । यस खाले घटनका कारण पनि नेपालमा अध्ययन गर्ने विद्यार्थीको संख्या निरन्तर घटदै गएको र नेपाली विश्वविद्यालय र क्याम्पसका कक्षाकोठाहरू रित्तिदै गएका तथ्य सबैका अगाडि छन् । उच्च शिक्षासँग सम्बन्धित पेसागत सङ्घ सङ्गठनका नियमित अधिवेशन समेत हुन नदिई देखाइएको लोकतन्त्रको उपहासप्रति पनि नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको गभ्मीर ध्यान आकृष्ट भएको छ । विश्वविद्यालयजस्तो गरिमामय र प्राज्ञिक संस्थाका पदाधिकारीमाथि भएको यस प्रकारको अराजक, अमर्यादित, अशोभनीय, र नियोजित जबरजस्त घटनाको सङ्गठन घोर भत्र्सना र निन्दा गर्दछ ।

उच्च शिक्षाका मुहानरूपी विश्वविद्यालय र तिनबाट प्रवाह हुने नदीरूपी सेवा आयोग, क्याम्पस, विभाग र अनुसन्धान केन्दहरूमा वारम्वार हुने गरेका यस्ता दण्डहीनताले प्रसय पाउने खालका कुसंस्कारका कारण आज पढेलेखेका युवा विदेसिन वाध्य भएको समेत नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ठहर रहेको छ । ठूला र मुल प्रवाह भनिएका राजनीतिक दलकै आवरणमा कालोमोसो दल्ने सम्मका आपराधिक घटनाका कारणले पनि नागरिकले विकल्प खोजेको हुन सक्ने तर्फ सचेत रहन पनि नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन सबैमा अह्वान गर्दछ ।

स्वस्थ प्रतिस्पर्धा मार्फत नेपालका विश्विद्यालयका पदाधिकारीहरूको नियुक्ति हुनु पर्नेमा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले निरन्तर आवाज उठाइ आएको छ । वि.सं. २०४६ को जनआन्दोलनको सफलतासँगै प्रजातन्त्रको पुर्नस्थापना भए देखि नै सत्ताको वागडोर लिएर प्रजातन्त्रको रटानमा बसेको नेपाली काँग्रेसले नेपालको उच्च शिक्षालाईृ प्रतिस्पर्धी बनाउने तर्फ ध्यान नदिई मनोमानी नियुक्तिका कारण दशकौं देखि उब्जेको फोहोर स्वच्छ र पारदर्शी नीति नियम बनाइ प्रतिस्पर्धा मार्फत बढार्ने आँट गर्नु पर्नेमा यसकै खिलाप हुने गरी भएका यस किसिमका अमानवीय कार्यको नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन प्रतिवाद गर्दछ । सत्ताको आडमा जे पनि गर्न सकिन्छ र लोकतन्त्रमा सत्ता भएपछि सबैथोक क्षम्य हुन्छ भन्ने निकृष्ट मानसिकता बोकेका दलहरूका भातृ सङ्गठनहरूबाट भएको यस अमानवीय कार्यको जति निन्दा गरे पनि अपुग रहन्छ । यस्ता गतिविधिले विधिको शासन, न्यायको अपमान, लोकतन्त्रको उपाहास र मानवअधिकारको खिल्ली उडाएको छ । विद्यार्थी सङ्गठनको पृष्ठभूमिमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि भएको यस प्रकारको कुत्सित गतिविधिले शिक्षा क्षेत्रको मात्र बदनामी भएको होइन समग्र राज्यको सुरक्षा प्रणाली र वर्तमान व्यवस्थाको उपाहास भएको हामीले ठानेका छौं ।

माग राख्ने र विरोध गर्ने जोसुकै सरोकारवालाहरूको मौलिक हक भएकोप्रति हाम्रो सङ्गठनको स्पष्ट अडान रहेकोमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि भएको अमानवीय घटना भएको दुई दिन बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरूको खोजी गरी कानुन बमोजिम कार्वाही गर्नुको सट्टा सत्तामा रहेका दलहरूले यसलाई सामान्य रूपमा लिएको प्रति नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले गभ्मीर रूपमा लिदै यस घटनालई एक गम्भीर चुनौतिको रूपमा स्वीकार गरि अघि बढ्ने चेतावनी समेत दिन चाहन्छ । यस चुनौतीको सामना गर्ने आँट छ भने यहाँ उल्लेख गरिएका हरेक अभिव्यक्तिको सुक्ष्म विश्लेष्ण गरी पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि भएको अमानवीय व्यवहार सहित हरेक घटनामा संलग्न दोषी माथि कडा कारवाही गर्न समेत नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन वर्तमान सरकार र तिनमा आवद्ध राजनीतिक दलहरूसँग माग गर्दछ । शैक्षिक क्षेत्रमा भएको यस्तो प्रकारको हर्कत र गतिविधि गर्ने जुनसुकै विद्यार्थी सङ्गठनको प्रतिनिधि वा सदस्य भए पनि अविलम्ब छानविन गरी कडाभन्दा कडा कारवाही गर्न संगठन जोडदार माग गर्दछ । साथै सबै सङ्घ सङ्गठनलाई यस्ता कार्यहरूको विरुद्ध एकजुट भई साथ दिन समेत आग्रह गर्दछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १७:४४