दोभान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
३१ जेठ, काठमाडाैं । दोभान हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले सोलुखुम्बु जिल्लाको जुनवेशी खोलाको पानिको बहाव सदुपयोग हुने गरी ५.२ मे.वा. क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। सोही आयोजनामा आईपीओबाट प्राप्त रकम लगानी गरिने कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो जारी पूँजी ७६ कराेडको ३० प्रतिशतले हुन आउने २२ कराेड ८० लाख रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीले साे आईपीओ संस्थामा कार्यरत कर्मचारी, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिक र सर्वसाधारणहरूका लागि निष्कासन गर्नेछ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झाैतापत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र दोभान हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक पुरञ्जन राईले हस्ताक्षर गरेका छन् ।
यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको १३२ के.भी. तिङ्गला लमाने सब- स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।
प्रकाशित मिति : 12:39









