२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमालेको बागमती इन्चार्जमा विष्णु रिमाल, भावी महासचिवमा ‘प्रोजेक्सन’ !

२९ जेठ, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश इन्चार्जमा उपमहासचिव विष्णु रिमाल तोकिएका छन । बागमतीको इन्चार्ज केही दिनअघिको सचिवालय बैठकले केन्द्रीय कार्यालयको प्रत्यक्ष निगरानी(संयोजनमा) रहने भनेर निर्णय गरेको थियो ।

सोमबार एमाले मुख्यालय ललितपुरको च्यासलमा भएको बागमती प्रदेशका केन्द्रीय सदस्यसहरूसहितको बैठकले इन्चार्जमा विष्णु रिमाललाई तोक्ने निर्णय गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दैनिकीलाई जानकारी दिए ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको बैठकले यसअघि केन्द्रीय कार्यालयले संयोजन गर्ने भनिएको बागमती प्रदेशको इन्चार्जमा रिमाललाई तोकेको हो । रिमाल बागमती इन्चार्ज बाहेक पार्टीको महत्वपूर्ण मानिने वित्त तथा कोष व्यवस्थापन र निर्वाचन विभागको प्रमुखको जिम्मेवारीमा पनि रहेका छन ।

यसअघि नै महत्वपुर्ण दुई विभागको प्रमुख रहेका उपमहासचिव रिमाललाई सबैभन्दा महत्वको मानिएको बागमती प्रदेशको इन्चार्ज बनाएपछि एमालेमा ११ औँ महाधिवेशनको तयारी सुरू भएको चर्चा पनि सुरू भएको छ । सोमबारको बैठकमा सहभागी एमालेका एक केन्द्रीय सदस्यले रिमाललाई भावी महासचिवको रूपमा ‘प्रोजेक्सन’ गरिएको दाबी गरे ।  उनले महासचिवको तयारीका लागि दुई महत्वपूर्ण विभागसँगै बागमतीको इन्चार्ज बनाइएको दाबी गरे ।

एमालेले सात मध्येको छ प्रदेशमा पार्टीका सचिवहरूलाई इन्चार्जको जिम्मेवारी दिएको छ तर बागमतीमा भने उपमहासचिवलाई जिम्मेवारी दिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा विश्वासिला पात्र रहेका रिमालले ओलीकै इच्छामा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका हुन ।

एमालेको गत शुक्रबारको सचिवालय बैठकले कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्जको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार २२:४२