५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नक्कली भुटानी शरणार्थी प्रकरणः अभियुक्त विरुद्धको बहस आज पनि जारी रहने

२२ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त विरुद्धको थुनछेक बहस आज(सोमवार) पनि जारी रहनेछ । उनीहरु विरुद्ध आइतवारबाट बहस सुरु भएको हो ।

सरकारी वकिलकोतर्फबाट उनीहरु विरुद्ध बहस चलिरहेको छ । जिल्ला अदालत काठमाडौंका अनुसार सरकारी वकिल पक्षको बहस सकिन साथ प्रतिवादीको पक्षबाट बहस सुरु हुनेछ ।

सरकारी वकिलको बहस मंगलवार सकिनेछ । बहस अदालतका न्यायधिश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको छ । आगमी ३१ जेठसम्म बहस सकेर अदालतले अभियुक्तलाई पुपक्र्षका लागि जेल पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय लिनेछ ।

प्रतिवादी कुनै हालतमा धरौटी राखेर हिरासत मुक्त हुने पक्षमा छन् । त्यसो हुँदा उनीहरुले बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्ता नियुक्त गरेका छन् । पुर्व गृहमन्त्री बालकृष्ण खाणले बहसका निम्ति पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एशोसियशनका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेसहित अधिवक्ताको १८ टोली नियुक्त गरेका छन् ।

त्यस्तै, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले थुनछेक बहसमा ‘हाइप्रोफाइल’ अधिवक्तालाई बहसमा उतारेका छन् । अदालतमा पेश विवरण अनुसार उनको पक्षबाट बहसको नेतृत्व बरिष्ठ अधिवक्ता सुशील पन्तले गरेका छन् । टोलीमा पूर्व महान्यायधिवक्ता रमेश बडाल पनि सहभागि छन् । त्यस बाहेक धर्मराज रेग्मी, पर्शुराम कोइराला, करुणाकर मल्लिक, आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा बहस गर्दैछन् ।

पूर्व गृहसचिव टेकनारायण पाण्डेले पनि बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्तलाई नै नियुक्त गरेका छन् । उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन् ।

एता, सरकारी वकिलकोतर्फबाट बहसमा सात सरकारी वकिल उत्रिएका छन् । टोलीको नेतृत्व जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी नेउपानेले गरेका छन् । उनको टोलीमा महेश खत्री, जनक घिमिरे, दिनेश भट्टराई, शुरबहादुर परियार, निर्मला मरासिनि र प्रकाश घिमिरे सहभागि छन् ।

घटनामा १८ अभियुक्त पक्राउ परेका छन् । १२ फरार छन् । उनीहरु विरुद्ध लिखत किर्ते, राज्य विरुद्धको कसूर, संगठित र ठगि कसूर अन्तर्गत मुद्या चलाइएको छ । उनीहरु विरुद्ध नक्कली शरणार्थीका नाममा ठगि भएको भन्दै एक सय १५ पीडितले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुद्यामा २८ करोड ८४ लाख रुपैयाँ ठगि भएको भन्दै बिगो दाबी भएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १०:२५