२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमालेका प्रदेश अध्यक्षहरूको हैसियत बढ्यो, अब पोलिटब्यूरो सरह

२१ जेठ, काठमाडौँ । नेकपा एमालेले प्रदेश कमिटीका अध्यक्षहरूको हैसियत बढाएको छ । कार्यकारी भूमिकामा रहने प्रदेश कमिटीको मुल नेतृत्व माथि केन्द्रीय सदस्यहरूले नै शासन गर्न थालेपछि एमालेले नयाँ मापदण्ड प्रस्तावित गरेको छ ।

एमालेको शुक्रबार भएको सचिवालय बैठकले पार्टीका ८ प्रदेशका अध्यक्ष पनि पोलिटब्यूरो सदस्य सरह हुने गरी प्रस्ताव गरेको छ । एमालेमा भौगौलिक सात प्रदेश र गैरभौगोलिक एकलाई विशेष प्रदेशको नाम दिएर ८ प्रदेश बनाइएको छ ।

एमाले उपमहासचिव विष्णु रिमालले शुक्रबार भएको बैठको निर्णय सार्वजनिक गर्दै ६ नम्बरमा प्रदेशका अध्यक्षहरू पोलिटब्यूरोमा पदेन सदस्य हुने प्रस्ताव गरिएको उल्लेख गरेका छन । धेरैजसो जिल्लामा केन्द्रीय सदस्य र जिल्ला इन्चार्जहरूले पनि प्रदेश अध्यक्षलाई बोल्ने र आशन ग्रहण गर्ने क्रममा गलत व्यवहार देखाउँदै आएका थिए ।

योसँगै अब एमालेको प्रदेश अध्यक्षहरू माथि भैरहेको अपमान अन्त्य भएको छ । पार्टीले लामो समय काम गरेका अग्रज नेताहरूलाई प्रदेशको जिम्मेवारीमा पठाएको छ । योसँगै प्रदेशको प्रभावकारिता बढ्ने अनुमान पनि गरिएको छ । यसअघि प्रदेश अध्यक्षहरू केन्द्रीय कमिटी बैठकमा मात्र बस्ने पाउने गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ०९:११