१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

माधव नेपालको फेरिएको भाका, ‘केपी अोली र मेरो २०२९ सालदेखिको सम्बन्ध बिगार्न खोजियो’

१ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो असमझदारी रहेको बताएर जनतामा भ्रम छर्न खोजेको भन्दै रोष प्रकट गर्नुभएको छ । उहाले देशको विकासलागि आफुहरु चिन्तित रहेका बेला केहीले आफुहरुको ०२९ सालदेखीको सम्वन्ध बिग्रान खोजेको आरोप समेत लगाउनु भयो ।

गृह जिल्ला रौतहटको कटहरियामा आयोजित दसैं, दीपावली तथा छठको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले केही नेताहरूले आफूहरूमा असमझदारी रहेको बताएर जनतामा भ्रम छर्न खोजेको भन्दै नेपालले देश विकासको लागि आफूहरू तीनैजना चिन्तित रहेको स्पष्ट पार्नुभयो । स्थानीय बज्जिका भाषामा मन्तव्य व्यक्त गर्दै नेता नेपालले प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खुलेर प्रशंसा समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले २९ सालको साथी रहेको प्रसंग दोहोर्याएको कुरालाई पुष्टि गर्दै नेता नेपालले आफूले २०२९ सालमा ओलीलाई गौरस्थित आफ्नो घरमा राखेको र रौतहटकै इनरबारीमा लामो समय भूमिगत रहेको स्पष्ट पानुृभयो ।

फाइल फोटो ।

सरकार पाँच वर्षसम्मको लागि स्थिर रहेको स्पष्ट पार्दै नेता नेपालले केही कर्मचारीले विकास रकमको बिलमात्र बनाएर हजम बनाउने काम गरेको भन्दै आपत्ति जनाउनु भयो । नेता नेपालले नेपाली कांग्रेस, फोरम तथा राजपाले विरोध गर्नुबाहेक अरु केही गर्न नजानेको बताउँदै विकास विरोधी रहेको आरोप लगाउनु भयो । कांग्रेसले देशमा विकासको लागि नयाँ केही नगरेको र गर्न पनि नचाहेको बताउँदै नेता नेपालले कांग्रेस असफल भइसकेको स्पष्ट पार्नुभयो ।

देशमा दुई तिहाई बहुमतको कम्युनिष्ट पार्टीको सरकार रहेको बताउँदै नेता नेपालले अब देश अगाडि बढ्ने बाटोमा हिँडिसकेकाले नेकपा नै देश र जनताको समस्या समाधान गर्ने पार्टीको रुपमा रहेको बताउनुभयो । स्थानीय सरकारमा पनि भ्रष्टाचार बढेको गुनासो सुन्न थालेको सन्दर्भमा नेता नेपालले स्थानीय सरकारसीत विकास निर्माणको सबै खर्च पारदर्शी बनाउँदै सीप विकास, साक्षरता, उद्यमशीलता तथा ठोस भौतिक पूर्वाधारमा लगानी गर्न विशेष जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका सांसद प्रभु साहले देशको सबैभन्दा कम साक्षरता भएको जिल्ला रौतहटलाई साक्षर बनाउन र मानव विकासको सूचकांकमा अगाडि ल्याउन सबैले परिश्रम गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा संघीय सांसद समिना हुसेन, सरला यादव, प्रदेश सांसद कुन्दन कुशवाहा, नागेन्द्र यादव, हसिमा खातुनले पनि नेकपाको सरकारले जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्दै देशलाई विकासको पथमा डोर्याउने काम गरिरहेको बताउनु भएको थियो । जनताटाइम्सबाट  शीर्षकबाहेक हुबहु सारिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहीबार ०६:४६