२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

शरणार्थी प्रकरणको छानविनका लागि संसदीय समिति गठन गर्न रवि लामिछानेको माग

१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको छानविनका लागि संसदीय छानविन समिति गठनको माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै उनले अहिले भएको छानबिन समितिले नेपाली जनताले चाहेको जस्तो परिणाम आउन नसक्ने भन्दै विशेष छानबिन समितिको माग गरेका हुन् ।

उनले भने, भ्रष्टाचारका विषयलाई लिएर तीन राजनीतिक दलहरु बसेर गरेको कुराको बारेमा मैले भन्दै आएको छु, आशंका व्यक्त गरेका थियौ । आज कुनै राजनीतिक दलहरु बाँकी रहेको छैन् जसलाई आरोप लाग्न बाँकी रहेको छ। त्यति मात्र होईन राज्यका निकायहरुको नाम यसरी आएको छ । अनुसन्धान गर्ने अधिकारी यसका प्रमुखहरुको नाम आएको छ । यस्तो अवस्थामा यो कुनै अध्याँरो कोठामा, कुनै गल्तीमा भएको क्रियाकलाप होईन् । दिउसै दिनको उज्यालोमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लनेदेन भएको यस्तो विषयहरु आएको छ । अन्तर्राष्ट्रिय बेइज्जत भएको छ, यो गम्भीर विषय छ । यो छानबिनले नेपाली जनताले चाहेको जस्तो हुन सक्दैन यसको लागि विशेष छानबिन समिति बनाउनु पर्छ । ’

उनले यस विषयमा गृहमन्त्री, प्रधानमन्त्रीले मुटु दरो पारेर आम नागरिकको हकमा काम गर्नुपर्ने भन्दै यसमा मुसिएका सबै निकायका मानिसलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताए । सभामुख देवराज घिमिरेले रास्वपाको यस वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १२:१६