२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

ऐन मार्फत चिकित्सा क्षेत्रका सबै समस्या समाधान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, चिकित्सा क्षेत्रका सम्पूर्ण समस्या समाधान हुने गरी शिक्षा ऐनलाई पूर्णता दिन आवश्यक रहेको बताएका छन् ।

सोमबार चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्नेगरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने आवश्यकता औंल्याएको उनको सचिवालयले जनाएको छ ।

‘कयौं युवा डाक्टरहरुले लाखौं खर्च गरेर पढ्नु भएको छ । तर ३० देखि ४० हजारको जागिर छ नेपालमा अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु । यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ’ प्रधानमन्त्री प्रचण्डलाई उद्धतगर्दै सचिवालयले लेखेको छ ।

आयोगले मेहनत गरेर तयार पारेको ऐनलाई राष्ट्रिय हित हुनेगरी अगाडि बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । देशमा रहेका विभिन्न समस्याको प्रतिबिम्बन नेपालको चिकित्सा क्षेत्रमा पनि रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा पनि गुणात्मक सफाईको आवश्यकता रहेको समेत बताएका छन् ।

बैठकमा चिकित्सा शिक्षा आयोगका सदस्यहरुले राष्ट्रिय पाठ्यक्रम प्रारुप तयार गर्नेबारे, जनशक्ति प्रक्षेपण, चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति निर्माणबारे आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १६:२४