१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अन्नपूर्ण संरक्षण क्षेत्रमा जान नेपालीले पनि शुल्क तिर्नुपर्ने, टानको अापत्ति

–दुर्गा पुडासैनी

३० असोज, काठमाडाैँ । अन्नपूर्ण संरक्षण क्षेत्र जाने पर्यटकसँग लिइने प्रवेश शुल्क बढेको छ भने अबदेखि नेपालीले पनि १ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि नेपालीलाई प्रवेश शुल्क लाग्ने गरेको थिएन ।

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्कराष्ट्र भित्रका पर्यटकलाई प्रवेश शुल्क २ सयबाट १ हजार रुपैयाँ र सार्कबाहिरका पर्यटकका लागि २ हजार २ सय ६० बाट ३ हजार रुपैयाँ पुर्याएको छ । पर्यटन वर्ष मनाउन लागेको बेला यसरी कर र शुल्क बढाएपछि पर्यटकलाई सास्ती हुने र यसले समस्या सिर्जना गर्ने टानका प्रथम उपाध्यक्ष जीवन थापामगरले बताए । मगरले यसले पर्टन व्यवसायमा समस्या सिर्जना गर्ने भन्दै निर्णयमा पुनर्विचार गर्न पनि सरकारसँग अाग्रह  गरेका छन ।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले अहिलेसम्म केही पनि नगरेको र यो शुल्क अव्यवहारिक भएको उनले बताए ।  उनले पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रमा एकद्वार प्रणालीबाट शुल्क उठाउन माग गरिरहेकोमा एक्यापले मनपरी शुल्क उठाएको भन्दै अापत्ति जनाए । प्रथम उपाध्यक्ष थापामगरले संरक्षण क्षेत्रभित्र बाटो बनाउने काममा ध्यान नदिने एक्याले शुल्कवृद्धिमामात्र ध्यान दिएको भन्दै असन्तुष्टि जनाए ।

ट्रेकिङ गाइड समेत रहेका पर्यटन व्यवसायी भुमराज तिवारीले संरक्षण क्षेत्रले विना गाइड समेत पर्यटक पठाउने गरेकोमा सुधार गर्न पछि पर्ने तर शुल्क वृद्धिमामात्र ध्यान दिन यसले पर्यटन व्यवसायमा नकारात्मक असर गर्ने बताउँछन । उनले कुन पर्यटकले के गर्दैछ भन्ने जानकारी नहुने र होटल खोल नदिने, कोठा थप्न पनि नदिने, गएका पर्यटक ठाउँ अभावमा डाइनिङमा सुत्नुपर्ने बाध्यता रहेको भन्दै यस्ता निर्णयहरू हुँदा सम्बन्धित सरोकारवालको राय सुझाव लिनुपर्ने बताए ।

यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले स्थानीय तहसँग कुनै समन्वय नै नगरी एकलौटी रुपमा बढाइएको शुल्क फिर्ता लिन माग गरेका छन । उनले अन्य गाउँपालिकाका अध्यक्षहरुसँग पनि कुरा भैरहेकोले संयुक्त कार्यक्रम बनाएर अघि बढ्ने बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलवार १९:२७