२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

नक्कली भुटानी शरणार्थी प्रकरणः पक्राउ परेकाहरुलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

७ जेठ, काठमाडौँ  । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना थप ३ दिन हिरासतमा राख्न काठमाडौं प्रहरी परिसरले अनुमति पाएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौँले १६ जनालाई थप ती दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। जेठ ४ गते प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनीहरुलाई दुई दिन हिरासतमा राख्ने अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । यससँगै सबै १६ जनाको आज म्याद सकिएसँगै प्रहरीले अदालतबाट पुनः तीन दिनको म्याद लिएको हो ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र इन्द्रजित राई समेत पक्राउ परेका छन् । यस्तै कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा समेत पक्राउ परेका छन्।

यो प्रकरणमा सबैभन्दा पहिला २०७९ चैत १२ मा केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । यस्तै पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन्।

सरकारी वकिल कार्यालयले अभियोग दर्ता गरेपछि उनीहरुको अदालतमा बयान अघि बढ्नेछ। त्यसपछि थुनछेक बहस सुरु हुन्छ। जिल्ला अदालतले मुद्दाको फैसला गरुन्जेल उनीहरुलाई थुनामै राख्ने कि थुनाबाहिर राखेर फैसला गर्ने भन्ने आदेश दिनेछ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १७:४०