२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

व्यक्ति अनुकुल विचार फेर्ने मानिसले राष्ट्रको नेतृत्व गर्न सक्दैनः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार व्यक्ति अनुकुल प्रस्तुत गर्ने मान्छेले राष्ट्रको नेतृत्व गर्न नसक्ने भन्दै प्रधानमन्त्रीलाई व्यङ्ग्य गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले व्यक्ति अनुसार कुरा गर्ने मान्छेले राष्ट्र लिड गर्न नसक्ने भन्दै यो प्रवृत्तिले लोकतन्त्रलाई सुदृढ र संविधानको रक्षामा योगदान गर्न नसक्ने बताए ।

उनले भने, आफ्नो विचार प्रस्तुत गर्न नसक्ने जो मान्छेको अगाडि छ त्यही अनुकुल कुरा गर्ने मान्छेले राष्ट्र लिड गर्न सक्दैन् । यस प्रवृत्तिले नीति तथा कार्यक्रमको प्रारम्भमा भनिए जस्तो लोकतन्त्रलाई सुदृढ गरेको छैन् । संविधानको रक्षामा योगदान गरेको छैन् ।अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने छैन् र नेकपा एमालेको सरकारले प्रारम्भ गरेको समृद्धिको आधार भत्काएको छ,मुलुकलाई अस्थिरतामा लगेको छ ।’

उनले सरकारको तर्फबाट आएको भाषण, सरकारले सिंहदरबारमा गर्ने निर्णय, मन्त्रीहरुले दिने अभिव्यक्ति सरकारको तर्फबाट सदनमा अर्थमन्त्रीले पेश गरेको दस्तावेज र राष्ट्रपतिले सदनमा प्रस्तुत गरेको दस्तावेज फरक फरक भएपछि सदनप्रति आशंका पैदा भएको बताए ।

निर्वाचनका क्रममा जनता समक्ष प्रस्तुत भएका घोषणा पत्र परिवर्तन गर्ने दुई महिना पनि नपुग्दै कोर्ष परिवर्तन गर्ने पटक पटक पोजिसन र मुख फेर्नेलाई गतिशील ठान्ने प्रधानमन्त्रीको नीतिले देशलाई चरम अस्थिरताको भासमा पुर्याएको पनि अध्यक्ष ओलीको टिप्पणी थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १५:४०