२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

४ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् ।  प्रचण्डले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले सोधेको लडाकु शिविरमा भएको भ्रष्टाचारबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित छ । फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु ।’

उनले भने, ‘पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो । क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ । त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो,’ उनले भने, ‘यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ । पटक-पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ । त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु । राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ ।’

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १४:१३