२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

नक्कली भुटानी शरणार्थी प्रकरण जोडिएकालाई एमालेले कारबाही गर्यो, कांग्रेसले जोगायोः नेता ज्ञवाली

 ४ जेठ, काठमाडाैं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि जोगाउनु नहुने बताएका छन् । सो प्रकरणमा जोडिएकालाई कुनै पनि खालका राजनीतिक संरक्षणमा जोगाउन नहुने ज्ञवालीले बताए । प्रेस चौतारी नेपाल कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले सो घटनाको निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्ने प्रष्ट पारे । छानबिनमा सहयोगकै लागि एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको उनले बताए ।

नक्कली शरणार्थीमा दोषी देखिने जो भए पनि दण्डको भागिदार हुने उनले बताए । ‘यो सानो ठगी वा अपराध मात्रै होइन, नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने अपराध हो’, ज्ञवालीले भन्नुभयो । ज्ञवालीले सो घटनामा राजनीति आग्रह पूर्वाग्रह भने राख्न नमिल्ने बताए ।

राजनीतिक पूर्वाग्रह राखी कसैलाई फसाउन र कसैलाई उम्काउन काम भने नगर्न उनले आग्रह गरे । ‘भ्रष्टाचार जुनसुकै तहबाट भए पनि निष्पक्ष छलफल हुनुपर्छ’, ज्ञवालीले भने । ज्ञवालीले यो प्रकरणमा मुछिएकालाई एमालेले कारबाही गरेको तर काँग्रेसले संरक्षण गरेको बताएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १२:३४