२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

नक्कली भुटानी शरणार्थी प्रकरणः दोषीलाई कारबाहीको माग गर्दै नेकपा एसले प्रदर्शन गर्ने

४ जेठ, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न विरुद्ध सत्तारुढ गठबन्धन मध्येको एक घटक नेकपा एकीकृत समाजवादी पार्टीले आज(बिहीवार) बिरोध प्रदर्शन गर्ने भएको छ ।

माइतीघर मण्डलामा समाजवादीले विरोध प्रदर्शन गर्न लागेको हो । बिरोध दिउँसो ३ बजेबाट सुरु हुनेछ । कार्यक्रममा समाजवादी अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनालसहितको शिर्ष नेता सहभागि हुनेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तारुढ गठबन्धनकै नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १४ जना पक्राउ परेका छन् ।

उनीहरु विरुद्ध कडा कारबाहीको माग गर्दै समाजवादीले विरोध प्रर्दशन गर्न लागेको हो । धन्दामा संलग्न भएको अभियोगमा प्रहरीले खाणसहित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटावा शेर्पालाई पक्राउ गरिसकेको छ । त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर थुलुङ, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । बादलका छोरा प्रतीक थापा र नीरज राईलगायत फरार छन् ।

उनीहरु विरुद्ध संगठित अपराध तथा ठगि मुद्यामा म्याद थप भई अनुसन्धान भइरहेको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरु विरुद्ध राज्य विरुद्धको अपराधमा समेत मुद्या चलाउन प्रहरीलाई निर्देशन दिएको छ । अबको दुई दिनभित्र प्रहरीले घटनाको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गर्र्दैछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १०:०४