२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

शरणार्थी प्रकरणमा राज्य शक्तिको दुरुपयोग केबल अंकको मात्र भ्रष्टाचार होइनः राप्रपा

३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर पठाउन गरिएको राज्य शक्तिको दुरुपयोग केबल अंकको भ्रष्टाचार मात्र नभएको निष्कर्ष निकालेको छ ।

काठमाडौंमा तीन दिनदेखि जारी केन्द्रीय कार्य समितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्य विरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्ते लगायतका कसुरमा कारवाही चलाउन जोडदार माग समेत गरेको छ ।

बैठक पछि आयोजित पत्रकार सम्मेलनमा अन्य सबै घोटाला काण्डहरुको पनि छानविन गर्नुपर्ने माग राप्रपाले अघि सारेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको कार्यपत्र र प्रतिवेदन परिमार्जनसहित पारित गर्दै बैठकलेभ्रष्टाचार निर्मूल पार्नका लागि क्यान्टोनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइड बडी काण्ड लगायतका सम्पूर्ण भ्रष्टाचारका घटनामा समेत तत्काल छानवीन गरी दोषीलाई कानुनको दायरामा ल्याउनु पर्ने माग पनि गरेको छ ।

२०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानवीन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ ।

यस्तै बैठकले किसानलाई तत्काल मल बीउ सर्वसुलभ उपलब्ध गराउन पनि माग गरेको छ । विभिन्न वित्तीय संस्थाहरूले सर्वसाधारणबाट चर्को ब्याजदर असुलेको कारण पीडितहरूले सडक संघर्ष गर्नु पर्ने बाध्यतादेखि नागरिकहरूले आत्मदाह गर्ने सम्मको अवस्था आएकोले पीडितहरूलाई तत्काल ऋणको ब्याजदर घटाउन पनि राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १६:४०