२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सरकार अरुले नै चलाउने रहेछन्, हामी त डमी मात्रै रहेछौंः पर्यटनमन्त्री किराँती

२ जेठ, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संसद् र सरकार अरुले नै चलाउँने गरेकाे बताएका छन् । उनले मंगलबार संघीय संसद्‌अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै आफू मन्त्री बनेपछि त्यस्तो अनुभूति गरेको बताए। मन्त्री किराँतीले मन्त्री अरुले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेशको मान्छे’ जस्तो भएर बस्नु परेको भन्दै दुखेसाे पाेखे।

‘यहाँ अरुले नै संसद चलाउँदो रहेछ। हामी त डमी मात्रै रहेछौं। अरुले नै चलाउँदो रहेछ मन्त्री त। हामीत शोकेशको मान्छे मात्रै रहेछौं, उनले भने, ‘मलाई लागेको कुरा यो हो।’ उनले पर्यटन क्षेत्रमा धैर ऐन बदल्नुपर्ने आवश्यक्ता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद् र सांसदलाई आग्रह गरे। संसद्‌मा बल दिएमात्रै आफूहरूले केही गर्नसक्ने अवस्था रहेको उनको भनाइ थियो।

उनले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रीपरिषद्‌बाट पास गराएर संसद्‌मा पेस गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराए। ‘पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नुछ। यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ,’ उनले भने, ‘संसद्‌मा हाम्रो सक्रिय भूमिका भइदिनुपर्‍यो। चासो गरिदिनुपर्‍यो । तपाईहरूले बोलिदिनुपर्‍यो। अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ।’ यसैगरी उनले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थलहरु आवश्यक नभएको तर्क उनले गरेका थिए।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १४:२५