एउटा घरानाको आम्दानी ४० अर्बले बढ्ने, राष्ट्र टाट पल्टिने नीति घातक छः महासचिव पोखरेल
१ जेठ, काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले एउटा घराना धनाड्य हुने र राष्ट्र कङ्गाल हुने नीति घातक भएको टिप्पणी गरेका छन् । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा महासचिव पोखरेलले वितेको एक वर्षमा मात्रै एउटा घरानाको आम्दानी ४० अर्बले बढेको तर राष्ट्रको अर्थतन्त्र ओरालो लागेको भन्दै आक्रोश पोखे ।
त्यस्तो नीति बनाउनेलाई कारवाही गर्नु पर्ने उनको भनाई छ । ‘स्वार्थका लागि राज्यका नितिहरुमा सौतावाजी गर्ने काम भयो । त्यसैको परिणाम स्वरुप आज व्यापार व्यवसाय बन्द छ । मुलुक चरम आर्थिक सङकटमा छ ।
आर्थिक बन्दीको अवस्थामा प्रवेश गरेको छ ।’ उनले भने, ‘यही अवधिमा राष्ट्र सङ्कटमा जाने र त्यही घटनासंग जोडिएको एउटा व्यापारीको यो बर्षको आम्दानी मात्रै ४० अर्ब वृद्धि भएको कुरा बाहिर आईराखेको छ । एउटा व्यापारीको घराना ४० अर्ब वृद्धि हुने र राष्ट्र टाट पल्टिने प्रकारको नीति बनाउनेहरुलाई सरकारी कारवाही गर्ने आट गर्छ कि गदैन ?’
अर्को प्रसंगमा उनले अहिले बदमासी आफुले गरेर सङकेत अर्को तर्फ देखाउने खेल चलीरहेको तर्क गरे । ‘भुटानीका नाममा नेपाली नागरीकहरुलाई अवैधानिक तरिकाबाट अमेरिका पठाउने नाममा जुन प्रकारको ठगी भएको छ । वास्तवमा यो ठगी काण्ड ठगी मात्र होइन् ।’ उनले भने ‘राष्ट्रमाथिको घात हो ।
यो राष्ट्रलाई गरेको अपमान हो । नेपाल राष्ट्र आफै मानव तष्करीको लागि काम गर्दछ भन्ने जुनकुरा छ । यो राष्ट्रको लागि लज्जाको विषय रहेको छ । यहाँ बदमासी गरेर सङकेत अर्को तर्फ देखाउने खालको खेल चलिरहेको छ । र यसप्रति सबैलाई सचेत रहन आग्रह गर्दछु ।’ जनता र राष्ट्रका हितका पक्षमा भ्रष्टचारीमाथि कार्वाही नगर्ने हो भने यो भन्दा ठुलो भ्रष्टता केही हुन सक्दैन उनको भनाई छ ।
प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार २०:४२