८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

चालु आर्थिक वर्ष वैदेशिक व्यापारमा गिरावट, विप्रेषण आप्रवाह सुधारोन्मुख

२९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष वैदेशिक व्यापारमा गिरावट आएको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिनासम्ममा वस्तु निर्यात २६.३ प्रतिशत, वस्तु आयात १८.१ प्रतिशत र व्यापार घाटा १७.१ प्रतिशतले घटेका छन् ।

चालु आर्थिक वर्षको नौ महिनाको मासिक औसत आयात रु.१३३ अर्ब ५० करोड रहेको छ । आयात प्रतिबन्ध र प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नु पर्ने सम्वन्धी व्यवस्था हटाइएसँगै आयात र व्यापार घाटाको घट्दो क्रम भनेकम हुँदैगएको छ । चालु वर्ष वस्तु आयात करीब रु.१६५० अर्ब हुने अनुमान छ ।

चालु आर्थिक वर्ष चालु खाता सुधार भएपनि अझै घाटामा रहेको छ तापनि शोधनान्तर बचत भएको छ । चालु आर्थिक वर्षको नौ महिनासम्ममा चालु खाता रु.५१ अर्ब ८२ करोडले घाटामा रहेको छ । तथापि, पुँजी आप्रवाह, उधारो आयात र बाह्य ऋण परिचालनका कारण शोधनान्तर स्थिति भने रु.१८० अर्ब १७ करोडले बचतमा रहेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा चालु खाता रु.५१० अर्ब ५८ करोड र शोधनान्तर स्थिति रु.२६८ अर्ब २६ करोडले घाटामा रहेको थियो । विप्रेषण आप्रवाह सुधारोन्मुख रहेको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिनासम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशत र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीको संख्यालाई दृष्टिगत गर्दा विप्रेषण आप्रवाह आगामी महिनाहरुमा पनि सन्तोषजनक रहने राष्ट्र बैंकले जनाएको छ

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार १४:३७