२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

अर्थतन्त्रको संकुचन देखाएर बजेटको आकार घटाउनु घातकः जनार्दन शर्मा

२७ वैशाख, काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको संकुचनलाई देखाएर बजेटको आकार घटाउन थालिएमा अर्थतन्त्रमा झन् संकुचनतर्फ जाने टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउनु बाहेक अन्य कुनै विकल्प नभएको बताए ।

उनले भने ‘वर्तमान अवस्थामा देखिएका आर्थिक संकुचन तथा निकट भविष्यमा आउन सक्ने वित्तीय क्षेत्रको चुनौतीलाई सम्बोधन गर्न गम्भीर भएर सोचौँ, आर्थिक संकुचनबाट जोगाउँदै अर्थतन्त्रलाई पुनःपरिचालित गराउन बजेट नै सबैभन्दा प्रभावकारी कार्यनीति भएकाले अर्थतन्त्रको संकुचनलाई देखाएर बजेटको आकार घटाउन थालिएमा अर्थतन्त्रमा झन् संकुचनतर्फ जान्छकिनकि अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउनुबाहेक अन्य कुनै रणनीति हुँदैन् । ’

उनले निश्चित क्षेत्रमा विस्तारकारी र अन्य क्षेत्रमा खर्च कटौती र नियन्त्रण गर्नुपर्ने बताए । आर्थिक गतिविधि बढाउन बजेट बढाउँदा स्रोत व्यवस्थापनको चुनौतीलाई ध्यान दिनु आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १६:१४