२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

९ महिनामा आयात र निर्यात दुबैमा कमी, व्यापार घाटामा १७.१ प्रतिशतले घट्याे

२७ वैशाख, काठमाडाैं । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा आयात निर्यात दुबैमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार नेपालबाट हुने वस्तु निर्यात कुल २६.३ प्रतिशतले घटेर ११८ अर्ब २८ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३५.१ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः २.२ प्रतिशत र ८.१ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई रु.१२०१ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत र १९.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले कमी आई रु.१०८३ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१०१ अर्ब ६७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१६७ अर्ब ५३ करोड बराबरको भएको थियो।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १५:५३