३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

साझा यातायातको टिकट अनलाइनबाट

२८ असोज, काठमाडौँ । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ। अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ ।

यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्नेछन् । ई –सेवा ‘एकाउन्ट’ भएका यात्रुले सहजै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने नभएका ग्राहकले नजिकैका ई –सेवा अङ्कित साइबर कम्यूनिकेशनबाट टिकट लिन सक्नेछन् ।

यसैगरी यात्रुले अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न तरिकाबाट रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन् । अनलाइन टिकटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गर्नुभएको छ ।

साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्र्धन गरेको बस सेवा डटकमसँगको सहकार्यमा काठमाडाँै उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसमा अनलाइनबाट टिकट काट्न सकिने छ । साझा यातायातका बस काठमाडौँदेखि रूपन्देहीको भैरहवा र बागलुङका लागि सञ्चालनमा छन् । रासस

प्रकाशित मिति : २८ आश्विन २०७५, आईतवार १२:५५