१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

निर्धन उत्थान लघुवित्तको नाफामा पहिरो, प्रतिसेयर आम्दानी कति ?

२५ वैशाख, काठमाडाैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे नाफा गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा ९४.५२ प्रतिशतले कम हो।  गत वर्ष यही अवधिसम्म संस्थाले ८० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १२.०९ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ३.३३ प्रतिशतमा सीमित थियो। एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ८६ करोड १९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज ५ करोड ८८ लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ९४.३७ प्रतिशतले घटेर  ६ करोड ४५ लाख रुपैयाँमा सीमित  रहेकाे छ । गत वर्षकाे यही अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा १ अर्ब १४ करोड रहेको थियाे ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि १०.१९ प्रतिशतले घटेर १ अर्ब ४० करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्षकाे साेही अवधिसम्म स्थाको खुद ब्याज आम्दानी १ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।

२ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीकाे जगेडा कोषमा १ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ सञ्चित छ। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४८.७६ रुपैयाँबाट घटेर २.२५ रुपैयाँमा पुगेकाे छ। याे अवधिमा मूल्य आम्दानी अनुपात (पीई रेसियो) २७७.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५३.७६ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १०:०८