८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

तीन कम्पनीको सेयर कारोबार रोक्का हुँदै

२४ वैशाख, काठमाडाैं ।  नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा तीन कम्पनीकाे सेयर काराेबार वैशाख २६ गते मंगलबारदेखि राेक्का हुने भएकाे छ । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर वैशाख २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । मर्जर पश्चात सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनार्थ वैशाख २६ गतेदेखि यी कम्पनीहरुको सेयर कारोबार रोक्का गरिने भएको हाे ।

मर्जर पछि यी कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । बीमा प्राधिकरणले वैशाख १३ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो भने नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

मर्जरपछि कम्पनीकाे  चुक्तापुँजी साढे ७ अर्ब बढी हुनेछ । मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइमको कार्यालय रहेको स्थान हात्तिसारमा रहने छ ।

एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गते ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द हुने छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १६:४९