२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

स्वदेशी उत्पादन वृद्धि नहुँदा परनिर्भरता बढ्योः प्रधानमन्त्री प्रचण्ड

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी उत्पादन वृद्धि नहुँदा मुलुक परनिर्भर बन्दै गएको बताएका छन् ।नेपाल व्यवसाय शिखर सम्मेलनमा प्रधानमन्त्री दाहालले स्वदेशी उत्पादन नहुने र उपभोगको संस्कृतिले प्रश्रय पाउँदा मुलकु परनिर्भरतातर्फ उन्मुख भएको बताए ।

स्वदेशी उत्पादन बढाई रोजगारी सिजना गर्न सरकारसँगै बैंक तथा वित्तीय संस्थाबीच सहकार्य हुनु पर्ने सम्मेलनमा प्रधानमन्त्री दाहालले बताए ।
सम्मेलनमा उनले भने,‘स्वदेशी उत्पादनमा वृद्धि नहुँदा र उपभोगको संस्कृतिले प्रश्रय पाइरहँदा मूलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गरेको हो कि भन्ने आभास भइरहेको अवस्थामा अब नेपाल सरकार र बैंक तथा वित्तीय संस्था लगायत समग्र निजी क्षेत्रको सहकार्यमा उत्पादन अभिवृद्धि, रोजगारीका अवसरहरूको सिर्जना, लगानी बिस्तार, उद्यमशीलताको विकास एवं बिस्तारमा जोडतोडका साथ लाग्नुपर्ने देखिएको छ ।’

अर्थतन्त्रको मेरुदण्ड बैंक तथा वित्तीय संस्था भएको हुँदा उत्पादनमुलक र निर्यातमुलक क्षेत्रमा लगानी विस्तार गरिनुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । केही समयएता बैंक तथा वित्तीय क्षेत्रमा समस्या देखा परेको र समाधानका लागि सरकारले आवश्यक कदम उठाइसकेको उनको भनाई छ ।

सम्मेलनमा उनले भने,‘केही समयदेखि बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्याहरूको समाधानका लागि नेपाल सरकारले आवश्यक कदम उठाइसकेको छ । यस क्षेत्रको सुरक्षा, सुधार र विकासका लागि नेपाल सरकार गम्भीर छ र रहनेछ । बैंक तथा वित्तीय क्षेत्रले उठाएका विभिन्न मुद्दाहरूको उचित समाधानका लागि समेत आवश्यक पहल हुनेछ ।’

अर्थतन्त्रको बृहत आर्थिक सूचक सकारात्मक बनाउने तर्फ सरकार गम्भिर भएको बताउँदै उनले सरकारको सोही पहलबाट तरलता अभाव विस्तारै कम हुँदै जाने बताए । उनले भने,‘कृषि, पर्यटन, जलविद्युत् र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै गर्दा घरेलु उत्पादन बढाउनु, निर्यातमा सुधार ल्याउनु, अर्थतन्त्रलाई उत्साहित बनाउनुका साथै अर्थतन्त्रका बृहत् आर्थिक सूचक सकारात्मक बनाउन गरिने पहलबाट तरलता अभाव टारिने र वैदेशिक विनिमय सञ्चित बढ्दै जाने हुनाले यसतर्फ सरकार गम्भीर छ ।’

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार ११:५३