क्लियरिङ हाउसले बीस प्रतिशत लाभांश दिने
२६ असोज, काठमाडाैँ । नेपाल क्लियरिङ हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको आज सम्पन्न सातौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा गरेको नाफाका आधारमा उक्त बोनस दिने निर्णय गरेको हो ।
कम्पनीले सो आवमा रु १८ करोड १६ लाख नाफा गरेको आज यहाँ आयोजित साधारणसभामा जानकारी दिइयो । कम्पनीको चुक्ता पूँजी रु १८ करोड रहेको छ । बोनस शेयर पारित भएपछि चुक्ता पूँजी बढेर रु २१ करोड ६० लाख पुगेको छ ।
कम्पनीले आव २०७४÷७५ मा ९६ लाख ८६ हजार चेकमार्फत् रु २६ अर्ब ६० करोड बराबरको राफसाफ गरेको छ । कम्पनीले विभिन्न ८० वटा बैंक तथा वित्तीय संस्थाको चार हजार ८० वटा शाखाबाट खिचिएका चेक राफसाफ गरेको जनाएको छ । कम्पनीमा केन्द्रीय बैंकको दश प्रतिशत, बैंक तथा वित्तीय संस्थाको ८० प्रतिशत र एक निजी कम्पनीको दश प्रतिशत शेयर स्वामित्व रहेको छ ।
प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार २३:०३