१ चैत्र २०८२, आईतवार | Mon Mar 16 2026

सार्वजनिक ओहोदामा रहेकाका सन्तान सामुदायिक विद्यालयमा

२० वैशाख, सिन्धुपाल्चोक । लिसङ्खु पाखर गाउँपालिकाले सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।

गाउँ शिक्षा समितिको निर्णयानुसार पालिकाकाभित्र सार्वजनिक पदधारण गरेकाहरूले आफ्ना बालबालिकालाई सात दिनभित्र सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना निकालेको छ ।

सामुदायिक विद्यालयलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्त माथि लैजाने उद्देश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने शिक्षा समितिको निर्णयसहितको सिफारिस भई आएको पालिका अध्यक्ष राजु लामाले जानकारी दिए । उनले आफ्ना बालबालिका पनि सामुदायिक विद्यालयमा भर्ना गरेको बताए ।

यही वैशाख १८ गते गाउँ कार्यपालिकाबाट शिक्षा समितिको सिफारिसअनुसार सार्वजनिक पदधारण गरेका सबैका बालबालिका सामुदायिक विद्यालय भर्ना गराउने निर्णय भएकाले सूचना प्रकाशित मितिले सात दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सोको जानकारी शिक्षा शाखामा उपलब्ध गराउन सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १६:०६