२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सरकारले महावीर पुनको कुरा सुन्यो, धर्ना स्थगित हुने

१७ वैशाख, काठमाडाैँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको वार्ता सकारात्मक भएको छ । विगत तीन दिनदेखि आन्दोलनमा रहेका पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानून, न्याय तथा संसीय मामिला मन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सरकारी वार्ता टोलीबीच रक्षा मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको हो ।

सरकारले  सोमबारसम्ममा माग पूरा गर्ने प्रतिबद्धता जनाएको छ । आइतबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी वार्ताबाट निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काज्यूको अफिसमा हामीलाई बोलाउनु भयो । हाम्रो मागका बारेमा सल्लाह सुझावहरु माग्नुभयो’, पुनले भने, ‘अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ ।’

पुनले आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रबारबाट अनिश्चितकालीन धर्नामा सुरू गरेका थिए । अहिलेसम्म पुनको धर्नामा धेरै समर्थन जनाएका छन । सरकारसँग सहमति भएपछि भोलि साँझबाट उनको धर्ना स्थगित हुनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १५:३०