२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

सूर्य थापाको प्रश्नः पेट दुखेका राष्ट्रपतिलाई प्रधानमन्त्रीले नै जोड गरेर किन भारत पठाएको ?

१५ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले पेट दुखेका राष्ट्रपतिलाई प्रधानमन्त्रीले नै जोड गरेर किन भारत पठाएको ? भन्दै संसद मार्फत सरकारलाई प्रश्न गरेका छन । शुक्बार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचारका लागि विदेश जाने इच्छा नगर्दा नगर्दै प्रधानमन्त्री प्रचण्डले जोड गरेर किन भारत पठाएको हो त्यसको जवाफ दिनुपर्ने माग गरे ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति नै जारी गरेर प्रधानमन्त्री प्रचण्डले जोड गरेर भारत पठाएको जानकारी दिएको थियो । सोही विषय उठान गर्दै सांसद थापाले राष्ट्रपति कार्यालयको विज्ञप्ति सम्बन्धमा यथार्थ जानकारी गराउन माग गरे ।

थापाले सामान्य पेट दुखेको बिरामीलाई एयर एम्बुलेन्स प्रयोग गर्नुको कारण सरकारले संसदमा जानकारी दिनुपर्ने बताए । थापाले शून्य समयमा भने, ‘मुलुकको राष्ट्रपति बिरामी भएर छिमेकी मित्रराष्ट्रको अस्पतालमा उपचार गराइहनुभएको छ । राष्ट्रपति कार्यालयले उहाँ उपचार गर्न जान इच्छुक हुनुहुन्थेन भनेर वक्तव्य जारी गरेको छ । एयर एम्बुलेन्सबाट लगिँदा अढाइ करोड खर्च भएको कुरा आइरहेको छ । सामान्य पेट दुख्दा एयर एम्बुलेन्समा खर्च गर्नुपर्ने यति समृद्ध मुलुक हो कि होइन ? प्रधानमन्त्रीले जोड गरेर पठाउनुभएको हो भन्ने वक्तव्यमा उल्लेख छ, यसबारे स्पष्ट परियोस् ।’

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १५:३५