१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

आज राष्ट्रपतिको निर्वाचन हुने

२९ फागुन, काठमाडौं । काठमाण्डौको संघीय संसद भवनमा आज राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।
राष्ट्रपति निर्वाचनमा एमालेकी विद्यादेवी भण्डारी र कांग्रेसकी लक्ष्मी कुमारी राई उम्मेदवार छन् । वाम गठबन्धनसहित अन्य साना दलको पनि समर्थन पाएकाले भण्डारी नै पुनः राष्ट्रपतिमा दोहोरिने पक्का छ ।


राष्ट्रपति चयनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवन नयाँबानेश्वरमा मतदान हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले निर्वाचनमा भाग लिने छन् ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र र मतदान केन्द्र निर्धारण गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि हरियो तथा प्रदेशसभाका सदस्यहरुका लागि रातो रंगको मतपत्रको व्यवस्था गरिएको छ ।

राष्ट्रियसभामा मनोनित डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले भने मतदानमा भाग लिन पाउने छैनन् । उनीहरुको शपथ ग्रहण गर्नुभन्दा एक दिनअघि नै अन्तिम मतदाता नामावली प्रकाशित भएकाले तीन जना सदस्यहरुले मतदानमा भाग लिन नपाउने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार ०८:१७