१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

१० जना यौनहिंसा र बलात्कारमा

२८ फागुन, काठमाण्डौं । गत मंसिर महिनादेखि हालसम्म १० भन्दा बढि महिला तथा बालिका यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडित भएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले विज्ञप्ति जारी गरी पछिल्लो समय प्रतिदिन यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूमा वृद्धि हुँदै गएको बताउँदै भन्नुभएको छ, ‘‘सामूहिक बलात्कारको घटनासमेतलाई सामाजिक वा पारिवारिक डर, धम्की र आर्थिक प्रलोभन देखाई मेलमिलाप गराइनु र बलात्कार जस्तो गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनका घटनामा संलग्न दोषीहरूलाई प्रभावकारी कारबाही नहुनुले पीडितहरू न्यायबाट वञ्चित हुने गरेको देखिन्छ ।’’

उहाँले नेपालको संविधानले यौनजन्य हिंसालाई कानुनबमोजिम दण्डनीय गर्ने र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरे पनि पाउन नसकेको बताउँदै हिंसापीडित महिलालाई न्यायका लागि पहल गर्ने क्रममा स्थानीय प्रशासन, प्रहरी र सरकारी वकिलका कार्यालयलाई संवेदनशील भई न्यायिक प्रक्रिया अगाडि बढाउन आग्रह गरेकाछन्।

आयोगले केही सञ्चारमाध्यमबाट पीडितको पहिचान हुने गरी तस्वीरसहितको समाचार प्रकाशन गरिनाले पीडितको गोपनीयताको अधिकारमा गम्भीर असर परेकाले संवेदनशीलता अपनाउन समेत आग्रह गरेको छ ।रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार १९:५५