२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

नेपाल रेमिट र सहारा नेपालबीच रेमिट्यान्स सम्झौता, ८० भन्दा बढी शाखाबाट भुक्तानी लिन सकिने

१२ वैशा, काठमाडाैं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याइरहेको नेपाल रेमिट इन्टरनेसनल प्रालि र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’का बीचमा रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स सहारा नेपाल ‘साकोस’का पूर्वी नेपालमा रहेका ८० भन्दा बढी शाखाबाट सहजै भुक्तानी लिन सकिन्छ। रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट डिजिएम देवबहादुर थापा र सहाराका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गरेका छन्।

विगत १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेसनलले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ। विशेषगरी डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइममै बैँक डिपोजिट हुने व्यवस्था मिलाएको छ भने देशभर रहेका १५ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत सहजै रेमिट्यान्स भुक्तानी लिन सकिन्छ।

सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’ले आफ्ना सदस्यलाई बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउँछ। यसले पूर्वी नेपालका विभिन्न जिल्लामा ८० भन्दा बढी शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साकोसले बचत खाता, ऋण, बीमा तथा रेमिट्यान्सलगायतका सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १६:५४