५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चन्द्रागिरी हिल्सले सूचना लुकाउँदा शनिबार हजाराैँले दुःख पाए, २४ घण्टादेखि केबलकार बन्द

९ वैशाख, काठमाडौँ । चन्द्रागिरी हिल्सले सूचना लुकाउँदा हजाराैँ नागरिकले शनिबार दुःख पाएका छन । केबलकार बिग्रिएको सूचना चन्द्रागिरी हिल्सको व्यवस्थापनले नदिँदा सेवा लिनका लागि चन्द्रागिरी पुगेका नागरिकहरू दिउँसो घण्टाैँसम्म कुरेर त्यसै फर्किन विवश भए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रमुख संरक्षणमा रहेको चन्द्रागिरी हिल्सले केबलकार बन्द भएको २४ घण्टा पूरा हुँदा पनि कुनै सूचना दिएको छैन । हिल्सको व्यवस्थापन समितिको अध्यक्ष भने ढकालका सहोदर भाइ हेमराज ढकाल रहेका छन । हिल्सका महाप्रबन्धक सञ्जिव थापाले दैनिकीसँग हुन्छ कि हुन्छ कि जस्तो लागेका कारणले सूचना नगरिएको बताए । उनले अझै केबलकार मर्मतको काम बाँकी रहेको बताए ।

शुक्रबार साँझ चन्द्रागिरी हिल्सको दुई सय रूपैयाँको प्याकेज सुरू भएको एक घण्टामै केबलकार रोकिएर सायाैँ यात्रु घण्टाैसम्म केबलमै झुण्डिएका थिए । उनीहरूको राति १० बजेसम्म लगाएर सकुशल रूपमा उद्धार गरिएको थियो । चन्द्रागिरी हिल्सका महाप्रबन्धक थापाले प्राविधिक टाढाबाट बोलाएर मर्मत गर्नुपर्दा समस्या परेको बताए ।

केबलकार रोकिएपछि सेवाग्राहीका लागि सूचना दिनु तपाईंहरूको कर्तव्य होइन भन्ने दैनिकीको प्रश्नमा महाप्रबन्धक थापाले भने, ‘हेर्नुन हुरीले केबलकारमा समस्या आयो । हुन्छ कि हुन्छ भन्दा भन्दै यो टेक्निकल कुराहरू कतिसमय लाग्छ पनि थाहा नभएका कारण यस्तो भयो ।’

अब भोलि पनि शनिबारको जस्तै सेवाग्राही चन्द्रागिरी हिल्सको केबलकार स्टेशनमा घण्टौ कुरेर फर्किनुपर्ने हो भन्ने प्रश्नमा उनले भने, ‘ए हैन हैन त्यो हो भने त हामी सूचना गरिहाल्छौँ । अहिले कम्पनीका मान्छेहरूले फाइनल हेर्दैछन । सम्भवत केबलकार चल्छ होला चलेन भने चाहिँ सूचना जारी गर्छौँ । अहिलेसम्म ८० प्रतिशत काम सकिसकेको छ ।’ उनले अघि भने, ‘हुरीले गर्दा इलेक्ट्रिक प्यानलको एउटा सिस्टममा समस्या आयो, समस्या पहिचान गर्न नै धेरै बेर लाग्यो । हुरीले गर्दा समस्या भएको हो ।’

शनिबार दिउँसभरी केबलकार चल्छ भनेर घण्टौ कुराएको काठमाडौँको तारकेश्वर ११का सुर्वण थापा जनताको समेत लगानी भएको सार्वजनिक सम्पत्तिमा व्यवस्थापनमा रहेकाहरूले देखाएको व्यवहार निन्दनीय रहेको बताउँछन । उनले केबलकार नचल्ने भएपछि फिर्ता जान भन्नुपर्नेमा एकछिनमा हुन्छ भन्दै पाँच घण्टा कुराएर अनि अब चाहिँ होला जस्तो छैन भन्दै फिर्ता गरेको बताए ।

यसअघि पनि पटक पटक समस्या देखिदैँ आएको केबलकार र व्यवस्थापनको हेलचक्राइ यो पहिलो भने होइन । व्यवस्थापनले समय समयमा मर्मत र चेकजाँच गर्नुपर्ने भए पनि निरन्तर सञ्चालनमात्र गर्ने र अड्किएपछिमात्र समस्याको समाधान खोज्दा समस्या आउने गरेको छ ।

यो पनि पढ्नुहोस्

चन्द्रागिरी केबुलकारमा शुक्रबार अड्किएका यात्रुको उद्धार, केबुलकार बन्द

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार २०:२४