५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सहकार्य गर्ने समझदारी

७ वैशाख, काठमाडाैं । नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संशाधनको वृद्धि विकासका लागि समझदारी भएको छ।

एक कार्यक्रमका बीच दुई निकायका अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीपत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका छन्।

यस समझदारीअन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउनेछ र विश्वविद्यालयले मानव संशाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्ने उल्लेख गरिएको छ।

यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैंकका सीईओ ढुंगानाले बताए। ‘पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैंकका कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियतदरमा स्तरीय आधुनिक बैंकिङ सेवा पाउने भएकोले समझदारी दुवैको हितमा रहेको छ’, ढुंगानाले जानकारी दिए।

समझदारी हस्ताक्षर कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. यादवराज कोइराला, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सञ्जेशप्रसाद कोइरालाका साथै नबिल बैंकका नायब कार्यकारी प्रमुख भुपेन्द्र पाण्डे र चिफ होलसेल लायबिलिटी कविन्द्रप्रसाद श्रेष्ठको उपस्थिति थियो।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १६:१५