योगेश भट्टरार्इलाई मन्त्री बनाउन भ्याएनाैँः प्रचण्ड
२४ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित एवं पार्टीका नेता योगेश भट्टराईलाई निर्वाचनमा नेतृत्वबाट गरिएको प्रतिबद्धतानुसार आफूहरुले मन्त्री बनाउन नभ्याइएको उद्घोष गर्नुभएको छ । पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले निर्वाचनमा पार्टीका अध्यक्ष ओलीले सो जिल्लामा पुगी भट्टराईले जितेपछि मन्त्री बनाउने वचन दिनुभएको थियो । अध्यक्ष दाहालले भन्नुभयो, “अध्यक्ष ओलीले दिएको चुनावी भाषण मैले हेरेँ । हामीले अहिलेसम्म योगेशजीलाई मन्त्री बनाउन भ्याएका छैनौँ । एक दिन त्यो वचन पूरा हुनेछ ।”
कार्यक्रममा अध्यक्ष दाहाललाई पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालले पाथीभरा सद्भावना दूतको परिचयपत्र प्रदान गर्नुभयो भने अन्य नेता र विशिष्ट व्यक्तिलाई अध्यक्ष दाहालले परिचयपत्र वितरण गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ताप्लेजुङको सुकेटार विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको, आजैदेखि त्यहाँ नियमित उडान शुरु गरिएको र पाथीभरा क्षेत्र विकास समितिलाई केन्द्र सरकार मातहत राखिएको जनाउँदै पूर्वक्षेत्रको पर्यटन विकासमा सद्भावनादूत परिचयपत्र वितरणले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेता भट्टराईले सरकारले चीनसँगको ओलाङचुङगोला नाका खोल्न सहमति गरेकामा धन्यवाद दिँदै पाथीभराको प्रचारका लागि २५ हजारलाई सो परिचयपत्र वितरण गरिने घोषणा गर्नुभयो । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारसँग जनताले धेरै अपेक्षा भएकाले यो असफल हुन नहुनेमा जोड दिनुभयो । रासस
प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार २२:१६