२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

होल्डिङ सेन्टरको विकल्प खोजिँदै


५ बैशाख, खजुरा । कोभिड–१९ को महामारीका क्रममा नेपालगन्ज सीमानाकामा निर्माण गरिएको होल्डिङ सेन्टर स्थानीय प्रशासनले त्यसको विकल्प खोज्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले होल्डिङ सेन्टर प्रयोगका लागि रक्षा मन्त्रालयलाई तीन विकल्पसहितको सुझाव पठाएको छ ।

तीन सदस्यीय अध्ययन कार्यदल बनाएर सुझाव सङ्कलन गरेको स्थानीय प्रशासनले प्राप्त सुझावका आधारमा मन्त्रालयलाई प्रस्ताव पठाएको हो । “हामीलाई रक्षा मन्त्रालयले यो विषयमा के–के गर्न सकिन्छ भनेर सुझाव मागेको थियो, तीन विकल्प पठाएका छौँ”, प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भने। स्थानीय प्रशासनले बहुउपयोगी एकीकृत पुनःस्थापना केन्द्रको सम्भावना औँल्याएको छ । पुनःस्थापना केन्द्र सञ्चालन गर्न सके एकै ठाउँमा धेरैलाई सेवा दिन सकिने उनको भनाइ छ ।

होल्डिङ सेन्टरलाई अस्पतालका रूपमा उपयोग गर्नसमेत सुझाव आएको छ । भेरी अस्पतालको नयाँ भवन निर्माणाधीन रहेकाले वैकल्पिक अस्पतालका रूपमा उक्त संरचना प्रयोग गर्न प्रस्ताव गरिएको छ । प्रजिअ आचार्यले भने, “होल्डिङ सेन्टर प्रयोगका लागि स्थानीय तहको वा अस्पतालकै रूपमा चलाउने विषयमा पनि छलफल भएको छ ।”

विपद्का बेलामा बाढीपीडितलाई राख्न सकिनेलगायत विषयमा पनि छलफल भएको छ । “निजी क्षेत्रका लागि निश्चित समय ठेक्कामा दिन सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको छ”, उनले भने ।

जुङ्गे महादेव मन्दिर पुनःनिर्माण

नेपालगन्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिर परिसरभित्रको जुङ्गे महादेव मन्दिर पुनःनिर्माण गरिने भएको छ । उपमहानगरपालिकाले मन्दिर पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेपछि बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाइएको छ ।

जुङ्गे महादेवको प्रतिमा रहेको सो मन्दिर तालमाथि रहेको छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइ, मन्दिर र मूर्ति यथावत राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए। एक वर्षभित्र निर्माण सक्ने गरी काम अघि बढेको उनको भनाइ छ ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालको बीचमा रहेको जुङ्गे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेशमार्ग रहेका कारण शिवरात्रिलगायत चाडपर्वमा दर्शनार्थीलाई असहज हुने गरेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार ०९:४८