१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

‘बामदेवका लागि चुनावी चर्चानै लज्जास्पद, ११ करोड कसले तिर्छ?’ (भिडियोसहित)

२४ असोज, काठमाडाैँ । नेकपाका नेता बामदेव गाैतमले काठमाडाैँ निर्वाचन क्षेत्र नम्बर ७ बाट उपचुनाव लड्ने तयारी गरेपछि चर्को बहस सुरू भएको छ । यो बहसमा नेकपाका नेता कार्यकर्तामात्र हैन, स्वतन्त्र व्यक्तिदेखि अन्य राजनीतिक पार्टीका नेता कार्यकर्ता समेत सहभागी भएका छन । बहालवाला सांसदलार्इ अकारण राजिनामा गराएर अर्को ठाउँबाट पराजित भएका नेतालार्इ पुनः उम्मेदवार बनाएर बिधीको खिल्ली उडाउन खोजिएको भन्दै सबैभन्दा बढी टिप्पणी र अालोचना भएका छन ।

यसैविषयमा बुधबार एबिसीवाचमा पत्रकार महेन्द्र भट्टरार्इसँगको बहसमा सहभागी हुँदै नागरिक समाजका अगुवा समेत रहेका भ्रष्टाचारविरूद्धका अभियन्ता केदार खड्काले बामदेवका लागि चुनावी चर्चा हुनुनै लज्जास्पद भएको बताएका छन । उनले कुनै पनि व्यक्ति पार्टीका लागि अपरिहार्य नहुने भन्दै निर्वाचन भएको एक वर्ष पनि नपुग्नदै बिनाकारण एउटा सांसदलार्इ राजिनामा गराएर राज्यकोषबाट कराेडाैँ रकम खर्च गराएर चुनाव गराउनु गलत भएको बताए ।

उनले रामवीरको राजिनामा स्वतस्फूर्त नभएको भन्दै यसको भित्रिपाटो पनि खोजी हुनुपर्ने बताए । खड्काले बामदेव गाैतम सबैकालागि अादारणीय नेता हुन तर अहिले उनलार्इ चोरबाटोबाट सांसद नबनार्इ नहुने के कारण पर्यो यो जनाताले जान्न पाउनुपर्ने बताए । अभियन्ता खड्काले उप निर्वाचनमा लाग्ने भनिएको ११ करोड खर्च कसले व्यहोर्ने भन्ने समेत स्पष्ट हुनुपर्ने माग गरे ।

यस्तै बहसमा सहभागी नेकपाकी नेतृ सांसद रामकुमारी झँक्रीले बामदेवको बचाउको कोशिश गरिन । उनले अहिलेसम्म पार्टीले अाधाकारिक निर्णय नगरे तर पार्टीले निर्णय गरेपछि अाफू पनि गाैतमलार्इ मत माग्न जाने बताइन । नेतृ झँक्रीले जनभावना बुझेरमात्र पार्टीले निर्णय गर्ने विश्वास व्यक्त गरिन ।

हेर्नुहोस् बहस

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार २०:५४