२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

काभ्रेमा बिस्का जात्रा हर्षोल्लासपूर्वक सम्पन्न


४ वैशाख, काभ्रेपलाञ्चोक । नयाँ वर्षको सुरुआतसँगै यहाँको विभिन्न स्थानमा सुरु भएको बिस्का जात्रा (विस्केट जात्रा) आज सम्पन्न भएको छ । गत बिहीबार अर्थात् चैतको अन्तिम दिनदेखि सुरु भएको उक्त जात्रा काभ्रेपलाञ्चोकको बनेपास्थित साँगा र धुलिखेलको श्रीखण्डपुरमा सुरु भएको थियो ।

जात्राको अन्तिम दिन आज अपराह्न साँगा र श्रीखण्डपुर दुवै स्थानमा लिङ्गो ढालेर वैदिक कर्मअनुसार रथबाट देवताका मूर्तिहरु देव घरमा भित्र्याएर जात्रा समापन गरिएको छ । यहाँ बिस्का जात्रा हजारौँ वर्षदेखि स्थान विशेष मौलिकतामा मनाउँदै आइएको बताइन्छ । बिस्का जात्रा भक्तपुरसहित नेपालका आठ स्थानमा आफ्नै किसिमले मनाउँदै आइएको छ ।

स्थानीयद्वारा बाजागाजा बजाएर देवदेवता राख्ने रथ सिंगार्दै साँगामा आफ्नै किसिमले मौलिक बिस्केट जात्रा मनाइएको हो । विशेषगरी बिक्रम सम्बत्को अन्तिम दिन बिहीबार साँगाको पूरानो बजारमा लिङ्गो उभ्याएर सुरु गरिएको थियो । नयाँ वर्षको सुरुआतको दिन अर्थात् जात्राको दोस्रो दिन शुक्रबार बिहान ईताचामा गणेशको मन्दिरमा श्वेत गणेशलाई प्रतिस्थापन गरिएको थियो । त्यहाँ स्थानीयले धुमधामकासाथ पूजार्अना गरेका थिए । उक्त दिन केही स्थानीयले आफ्नो शरीरभरी दियो बालेर कठोर अवस्थामा व्रत पनि बसेको स्थानीय राजु मधिकर्मी श्रेष्ठले बताए ।

उक्त दिन गणेशलाई बेलुकीपख खुल्चाखुसीमा खटमा राखी त्यहाँ व्रत बस्ने विशेषत महिला श्रद्धालुहरूले पहिलो पटक खटको गणेशलाई लाइन बसेर पूजा गरेका थिए । गहिरो ठाउँ सानो खोलो खुल्चाखुसीको बीचमा वरिपरिबाट स्थानीयले श्रद्धास्वरुप चटामरी अन्य खाद्य सामग्री रथमा चढाउने गर्छन् । केही वर्षदेखि बिस्कुट, चाउचाउ अन्य खाद्यान्न सामान चढाउने गर्दै आइएको छ ।

धेरैले बिस्कुट चढाउने गर्नाले धेरैले बिस्का जात्रालाई ‘बिस्कुट जात्रा’ पनि भन्न थालेको भनाइ रहेको छ । सोही रथ बजार घुमाउँदै पूजाआजा गरेर गणेश विश्राम स्थल सत्तलमा राखिएको थियो । यस्तै जात्राको तेस्रो दिन अर्थात् शनिबार बिहान सबेरै कुमारी र गणेशको रथ तयारी अवस्थामा बजारको मध्यभाग भीमसेनस्थानमा राखी सोही रथहरुलाई लाइनले माथि बजार पाखण्डाली परिक्रमा गर्नेक्रममा तीन दबुमा सिन्दूर जात्रा गरी पहिलेकै ठाउँमा ल्याएर राखिएको थियो ।

गणेशको रथलाई छेउमा राखेर मूर्तिलाई मुख छोपेर राख्ने चलन छ । यसरी भैरव र कुमारीको रथ भीमसेनको मन्दिरलाई घुमाउँदै जुधाउने गरिएको थियो । रथलाई बोकेर जुधाउने रथ जात्रा स्थानीयले निकै रमाइलो मान्ने गर्दछन् । यसैगरी जात्राको अर्को दिन ‘द्यो सगुन’ प्रदान गरिने भनेर तिनै रथहरु बजार घुमाइएको थियो ।

साँगाको बिस्का जात्रामा काभ्रेपलाञ्चोकको विभिन्न स्थान तथा भक्तपुर, काठमाडौँका भक्तजनको सहभागिता रहने गरेको स्थानीय राजाराम दुवालले बताए । यहाँको बाजागाजाको छुट्टै पहिचान बोकेको छ । साँगामा उक्त जात्रामा विशेषत जुगी बाजा, नाव खिं बाजा र घिमे बाजा बजाइन्छ । जात्रा अवधिभर विभिन्न भजन मण्डलीहरुले भजन गाउँदा सयौँ स्थानीयले साथ दिएका थिए ।

साँगाको बिस्का जात्रा भने ‘एक दिने राजा’को किम्बदन्ती कथामा आधारित भएको स्थानीय बताउँछन् । किम्बदन्तीअनुसार परापूर्वकालमा रानीसँग बसेको राजा भोलिपल्ट मृत्यु हुने हुँदा ती रानीको लागि हरेक दिन नयाँ राजाको खोजी गर्नुपर्ने अवस्था सिर्जित भएको थियो । सोक्रम धेरै दिन चलिरहेपछि सहरमा युवाकेटा खोज्नुपर्ने अवस्था आएपछि एक दिन राजा बन्न लागेका एक वीर पुरुष युवाले रानीसँग बस्ने राजाको मृत्युको कारण पत्ता लगाउन नसुती जाग्राम बसेका रहेछन् ।

राति रानीको नाक बाट सानो (बि) सर्प निस्केर त्यो सर्प ठूलो भएर राजालाई डसेर मार्ने गरेको कारण पत्ता लगाए । ती युवा राजाले त्यो सर्पलाई तरबारले टुक्रा टुक्रा पारेर मारेपछि सधँको राजा छान्ने काम र राजाको मृत्युको परिस्थितिबाट मुक्त भएर सो व्यक्ति नै सधैँको राजा भएको हुँदा सोही खुसीयालीमा राजा र प्रजा मिलेर बिस्का जात्रा मनाउने चलन चल्दै आएको बताइन्छ ।

यस्तै धुलिखेलको श्रीखण्डपुरमा पनि मनाइने सोही प्रकृतिको बिस्का जात्रा लिङ्गो ढालेर वैदिक कर्मअनुसार रथबाट देवताका मूर्तिहरु देव घरमा भित्र्याएर जात्रा समापन गरिएको छ । उक्त जात्रा मनाउन थालेपछि झाडापखालाबाट कोही पनि स्थानीयको मृत्यु नभएको जनश्रुतिसमेत रहेको स्थानीय समाजसेवी पूर्णबहादुर कर्माचार्यले बताए। उनका अनुसार श्रीखण्डपुरका बासिन्दा नेपालको जुनसुकै स्थानमा गएर बसे पनि यही बेला उनीहरुले लिङ्गो नठड्याएपनि देवीदवताका मन्दिरमा रथारोहण गरी जात्रा मनाउने गर्दछन् ।

दुवै स्थानको जात्रामा दैनिकजसो स्थानीयलगायत हजारौँको सहभागिता हुने गर्दछ । जात्रा अवधिभरमा नातेदार, आफन्त शुभेच्छुकलाई बोलाई ठाउँ अनुसारको रितीरिवाजका परिकार बनाएर भोज खुवाई सत्कार–सम्मान गर्ने प्रचलन रहँदै आएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १९:०९