२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

अन्तरदेशीय पूर्वाधार निर्माण गर्न डा राणाको आग्रह


४ वैशाख, धनगढी । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आरजु राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण र गौरीफन्टा नाका सञ्चालनमा सहजीकरण गर्न भारतसँग आग्रह गरेकी छिन ।

सुदूरपश्चिम प्रदेशमा शनिबारबाट शुरु भएको अन्तरदेशीय मानसखण्ड सम्मेलनको समापन सत्रमा राणाले भारतीय राजदूत नवीन श्रीवास्तव र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग दुई देशबीचको अर्थसामाजिक सम्बन्ध थप मजबुद बनाउन यो आवश्यक रहेको बताइन ।

डडेल्धुरा जिल्लालाई भारतसँग जोड्ने पुल निर्माण, गौरीफन्टा नाकाबाट हुने अन्तरदेशीय व्यापार तथा आवागमनलाई सहजीकरण र क्षेत्रीय विमानस्थल निर्माणका लागि नेपालले पहल एवं भारत सरकारले सहजीकरण गर्नुपर्ने उनीको भनाइ छ ।

“डडेल्धुरा जिल्लालाई भारतसँग जोड्न पक्की पुल निर्माणका लागि पहल गर्न र गौरीफन्टा नाका सहज बनाउन अति आवश्यक छ”, राणाले भनिन, ‘‘गौरीफन्टाको सडकलाई तत्काल फराकिलो बनाउन नसकेपनि कम्तीमा स्तरोन्नति गरी नाका सहजीकरणमा भारतले सहयोग गर्नुपर्छ ।”

गौरीफन्टा नाकाबाट हुने दुईपक्षीय व्यापार र आवागमनमा भारतीय पक्षले पछिल्लो समय दुदुवा नेसनल पार्कका नाममा कडाइ गर्दै आएको उनीको भनाइ छ । राणाले सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय विमानस्थल निर्माणको आवश्यकता पनि औंल्याइन ।

सुदूरपश्चिम प्रदेश अहिले भौतिक पूर्वाधार विकासमा राम्रो बनिसकेको भएपनि यहाँको जनशक्ति विदेशीने क्रम अझै नरोकिएको उनीको भनाइ छ । “पछिल्लो समय यहाँको पूर्वाधारमा निकै ठूलो परिवर्तन भएको छ । तर यहाँको जनशक्ति विभिन्न देशमा गइरहेका छन् ।” राणाले भनिन, “नेपालका लागि काम गरौं र यहीँ श्रम गरौं भन्ने अवस्था बनाउन यहीँ रोजीरोटी कमाउने र यहीँ राम्रो सपना देख्ने अवस्था सिर्जना गर्नका लागि सबै आआफ्नो क्षेत्रबाट लागौं ।”

मानसखण्ड सम्मेलनको औचित्यबारे बोल्नुहुँदै सांसद राणाले नयाँ युगलाई कसरी परिभाषित गर्ने र कसरी अघि बढ्ने भन्नेबारे यसले मार्ग रेखाङ्कन गरेको बताइन । “सम्मेलनमा विद्धान तथा प्राज्ञहरुले मानसखण्ड करिडोरको मार्गचित्र काेरेका छन, यसलाई जीवन्त बनाएर अघि बढ्न आवश्यक छ”, उनीले भनीन ।

सरकार यतिबेला बजेट निर्माणको चरणमा रहेकाले मानसखण्ड करिडोर निर्माणका लागि सुदूरपश्चिम प्रदेशले पहल गर्नुपर्ने उनीको सुझाव छ । भारतले आफ्नो क्षेत्रमा करिडोर निर्माण गरिरहेकाले नेपालले पनि पहल थाल्नुपर्ने उनीको भनाइ छ । त्यस्तै, विश्व ध्रुवीकरणका सन्दर्भमा नेपाल सधैं मानव अधिकार र प्रजातन्त्रको पक्षमा उभिने पनि राणाले स्पष्ट पारीन ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले मानसखण्ड करिडोर निर्माण गरिरहेकाले नेपालले पनि आफ्नो भू–भागभित्रका क्षेत्रमा काम थाल्नुपर्ने बताइन । सुदूरपश्चिममा अन्तरदेशीय सडक सञ्जाल थप गर्न भारत तयार रहेको पनि उनीको भनाइ छ ।

“यहाँका केही स्थानमा नयाँ पक्की पुल बनाउन आवश्यक छ । नेपाल सरकारबाट प्रस्ताव आएमा हामीले यो विषयलाई उत्तराखण्ड सरकारमार्फत् अघि बढाउन सक्छौँ”, राजदूत श्रीवास्तवले भने । मानसखण्ड करिडोरमा धार्मिक पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुहुँदै उनले त्यसका लागि पूर्वाधार तयार पार्नु दुवै सरकारको पहिलो प्राथमिकता रहनुपर्ने औल्याए ।

त्यस्तै, दुई देशबीच डिजिटल भुक्तानी प्रणालीलाई थप सहज बनाउन आवश्यक रहेको पनि राजदूत श्रीवास्तवले बताएका छन । नेपालमा भारतीय रुपैयाँ बोक्न सीमा तोकिएकाले यहाँ आउने पर्यटकलाई समस्या हुने गरेको उनको भनाइ छ । नेपालमा नगद भारु २५ हजारसम्म मात्रै बोक्न पाइने प्रावधानको सीमाबारे पुनर्विचार गर्न र दुई देशका डिजिटल भुक्तानी प्रणालीबीच अन्तरआबद्धता कायम गर्न नेपालले केही निर्णय लिन आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल र भारतबीच सामाजिक, साँस्कृतिकसँगै आर्थिक सम्बन्ध पनि बलियो रहेको उल्लेख गर्नुहुँदै राजदूत श्रीवास्तवले धार्मिक करिडोरमार्फत पर्यटन विस्तारलाई भारतले प्राथमिकता राखेको बताए । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सुख्खा बन्दरगाह छिट्टै निर्माण गर्ने विषय पनि भारतको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथाईवालेले मानसखण्ड सम्मेलनको निष्कर्ष तयार पारी नेपाल र भारत सरकारलाई उपलब्ध गराउन सुझाव दिए । यहाँको स्थानीय अर्थतन्त्र बलियो बनाउन दुई देशका विभिन्न धार्मिक सर्किटलाई मूर्तरुप दिइनुपर्ने उनीको भनाइ छ ।

“हामी दुई सार्वभौम मुलुक हौँ । तर हाम्रो सम्बन्ध शदियौंदेखि छ । सम्बन्धलाई थप मजबुद बनाउन नयाँ आयाम खोजेर त्यसमाथि नतिजायोग्य काम गर्न जरुरी छ”, उनले भने । शिवशक्ति सर्किट, बुद्ध सर्किट, मानसखण्ड सर्किट जस्ता करिडोर निर्माणमा दुई देशको संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सम्बन्धलाई निकै महत्व दिने गरेको र नेपाल भ्रमणका क्रममा यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुगेर प्रवद्र्धनमा सहयोग गरेको उनले उल्लेख गरे ।

सम्मेलनमा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले धार्मिक पर्यटन प्रवद्र्धधनका लागि आवश्यक पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिए। “हामीले बजेट छर्ने होइन । यो क्षेत्रको पर्यटन पूर्वाधारमा केन्द्रित गरी बजेट बिनियोजन गरौँ । यहाँको धार्मिक पर्यटन प्रवर्द्धन गर्नसकेमा रोजगारी बढ्ने र जनजीवन पनि सुधार हुँदै जानेछ”, उनले भने ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १७:४४