२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

हेमा जोशी समाजशास्त्रमा स्वर्ण, आधा दर्जन पुस्तक लेखन

 ४ वैशाख, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयबाट नेपाली र समाजशास्त्रमा स्नातकोत्तर गरेकी भीमदत्त नगरपालिका–१८ का हेमा जोशीले दुई वर्षमा सोही विश्वविद्यालयमा अध्यापन हुने आधा दर्जन पुस्तक लेखेकी छिन ।

कम उमेरमै विद्यावारिधिमा अनुसन्धानरत (नेपाली शिक्षा) रहनुभएकी २६ वर्षीया विद्यार्थी उनीले दुई वर्षमा आठवटा पुस्तक लेखिसकेकोे बताइन।

केही दिनअघि समाजशास्त्रमा विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाटस्वर्ण पदकसमेत प्राप्त गरेकी जोशीले विद्यावारिधिपछि शैक्षिक क्षेत्रमै सक्रिय हुने योजना रहेको बताइन ।

सामान्य पारिवारिक अवस्थाकी जोशीले ‘नेपाली भाषा शिक्षा’ सहलेखन पहिलो पुस्तक दुई वर्षअघि लेखेको जानकारी दिइन । अहिले उनीको ‘सामाजिक संस्था र प्रक्रियाहरुको विश्लेषण पुस्तक’ स्नातकोत्तर तहमा अध्यापन हुन्छ । जोशीले भनिन, “ती पुस्तकबाट १५ देखि २० प्रतिशत रोयल्टीबापत पारिश्रमिक मिन्छ ।”

उनीले लेखेकाे ‘भाषा सञ्चार र प्रविधि’, उक्त विश्वविद्यालयको स्नातक तहको आठौँ सेमिष्टरमा अध्यापन हुन्छ । अध्ययन र पुस्तक लेखनसँगै भविष्यमा विद्यावारिधि सकेर शिक्षण पेसामा सक्रिय रहने योजना जोशीले बनाएकी छन ।
उनी प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत हुँदा खेलकुद क्षेत्रमा पनि अब्बल थिइन । सुदूरपश्चिम विश्वविद्यालयबाट चारवटा प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता खेलेको अनुभव जोशीले सुनाइन । “ ब्याडमिन्टनमा एकलतर्फ रजत पदकसम्म जितेँ”, उनीले भनिन, “कोरोनाका अवधिमा अम्पायरको तालिम पनि लिएँ ।”

अध्ययनमा अब्बल उनीले आफूलाई निजी विद्यालयबाट शिक्षण पेसाका लागि मौकाहरु आएको जानकारी दिइन । “जागिरको अफर आएको थियो”, जोशीले भनिन, “अझै पनि पुस्तक लेखनलाई नै निरन्तरता दिन्छु ।”

नेपाली सेनाको जम्दार पदबाट सेवानिवृत्त बुवा र गृहिणी आमाकी छोरी उनीले कक्षा १० सम्मको अध्ययन लक्ष्मी मावि खैरभट्टीबाट र उच्च माध्यमिक शिक्षा तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसबाट गरेकी थिइन।

भाषा शिक्षकको पेसागत उन्नयनको अवधारणा (सहलेखन २०७९), नेपाली भाषा र साहित्य शिक्षण (सहलेखन २०७९) प्राज्ञिक लेखन (एकल २०७९), भाषा सञ्चार र प्रविधि (एकल २०७९)सहित आधा दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित छन् ।

जोशीका नेपाली भाषा, साहित्य, भाषा, शिक्षण, लोकसाहित्यलगायत क्षेत्रमा अनुसन्धात्मक समसामयिक सन्दर्भ तथा विज्ञ समीक्षित लेखहरु तथा साहित्य विषयक लेखहरु प्रकाशित छन् ।

विश्वविद्यालयको दीक्षान्त समारोमा केन्द्रीय क्याम्पसका जोशीसँगै आठजना दीक्षित भएकामा दुई छात्रा र छ छात्र थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १७:०१