२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

गोदाममा थन्किए काठका भाँडाकुँडा


४ बैशाख, वालिङ । स्याङ्जाको चापाकोट–९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा भए । आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका छन । साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उनले आफ्नै बाबुबाजेहरुहरुबाट सिके ।

आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास, थाललगायत सामग्रीहरु निर्माण गर्दै आएका छन । आधुनिक यन्त्र उपकरण, औजारहरु भित्रिएता पनि उनले पुरानै शैलीका साँचो र लोताको प्रयोग गरेर सामग्री उत्पादन गर्छन। आधुनिक औजारले सहज हुनाका साथै थोरै जनशक्तिबाट पनि छिटो काम सकिन्छ तर उनी पुरानै औजारहरुको प्रयोग गरेर कडा परिश्रमसहित सामग्रीहरु उत्पादन गर्छन ।

‘कुशल भाँडा उद्योग’ दर्ता गरी व्यावसायिकरुपमा काठका सामग्री उत्पादन गर्ने र बिक्री गर्ने उनको दैनिकी हो । पछिल्लो समयमा बजारमा आएका प्लास्टिक र सिलोटका भाँडाले काठका भाँडाकुँडा बिक्री घट्दै गएको उनी बताउछन । “पहिला–पहिला जस्तो आजभोलि काठका भाँडाकुँडाहरु बिक्दैनन्”, उनले भने, “प्लास्टिक र सिलोटका भाँडाहरु काठका भाँडाका तुलनामा सस्तो हुन्छन् ।”

पछिल्लो समयमा काठका भाँडाको महत्वका बारेमा थाहा नभएकाले पनि उपभोगमा कमी आएको हुनसक्ने उनको दाबी छ । गाउँघरमा पहिला गाईभैँसी पाल्ने र काठको ठेकीमा दही जमाउने, काठकै ठेकामा मोही पार्ने, घ्यू बिक्री गर्ने चलन भएता पनि आजभोलि गाईभैँसी पाल्न छाडेकाले पनि यसको प्रयोग घट्दै गएको हो । बजारमा आएका सस्तो र आधुनिक सामग्रीहरुको प्रयोगका कारण पनि काठका भाँडाकुँडाको प्रयोग घट्दै गएको हो ।

“आफूले उत्पादन गरेका विभिन्न काठका भाँडाहरु काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजार तथा गाउँमै माग धेरै हुँदा पु¥याउन सकिन्नथ्यो”, उनले भने, “अहिले भने उत्पादन गरेर राखिएका काठका विभिन्न भाँडाकुँडा मात्रै झन्डै पाँच लाख मूल्यको गोदाममा थन्किएको छ ।”

उद्योगमा उनीसहित अन्य सातजनाले रोजगारीसमेत पाएका छन् । आफ्नो आम्दानीको मुख्य स्रोतका रुपमा रहेको यो पेसा नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्दा उनी चिन्तित हुनुहुन्छ । युवा पुस्ताहरु रोजगारीका लागि विदेश जाने वा अन्य पेसामा लाग्ने गरेकाले पनि सीप पुस्तान्तरण हुन नसकेको उनले बताए । उत्पादन भएका सामग्रीहरु बिक्री नभएपछि अहिले चाडपर्व लाग्ने मेलाहरु, महोत्सवहरुमा लगेर प्रदर्शन तथा बिक्री गर्दै  छन ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १४:०५